नाफा घटेका कम्पनीको शेयर बिक्रीमा चाप, साल्ट्र ट्रेडिङको मूल्य बढेको बढ्यै

0
Shares

आइतबारको शेयर बजारमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुमा बिक्रीको चाप देखिएको छ । बिक्री चाप बढ्दा यी कम्पनीहरुको शेयर मूल्य समेत उच्चदरले घटेको छ ।

बजार खुलेको डेढ घण्टाको अवधिमा सबैभन्दा धेरै ओरिन्टिल होटलको शेयर मूल्य ७ प्रतिशतले बढीले झरेको छ । शिवम सिमेन्टसको शेयर मूल्यमा पनि सोहि अनुपातमा गिरावट देखिएको छ ।

ओरियन्टल र शिवम दुवै कम्पनीले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका थिए । यस्तै चिलिमे हाइड्रो, तारागाँउ रेजन्सी होटल, आधिँखोला हाइड्रो, नेपाल इन्भेष्टमेन्ट बैंक तथा सान्जेन जलविद्युत लगायतको कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यी सबै कम्पनीहरुले गत आर्थिक बर्षको पहिलो त्रैमासमा तुलनामा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको विवरण सार्वजनिक गरेका थिए ।

यता, साल्ट्र ट्रेडिङको शेयर मूल्य भने निरन्तर उकालो लागेको छ । लगातार मूल्य बढेको सर्किट लागेको यो कम्पनीको शेयर मूल्य आइतबार करिब दश प्रतिशतले बढेको छ । जसको शेयरमूल्य ९४ रुपैयाँले बढेर १०३४ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसैगरी पाँचथर पावर, युनाइटेड हाइड्रो, गणपति लघुवित्त तथा सेन्चुरी बैंक लगायतको शेयर मूल्य बढेको छ । समग्रमा बजार भने ओरालो लागेको छ । बजार खुलेको डेढ घण्टाको अवधिमा नेप्से सूचक ५ अंक बढीले ओरालो लागेको छ । यसबिचमा १०९ कम्पनीको ११ करोड बढीको शेयर किनबेच भएको छ ।