नयाँ मोदी-लेखनाथ १३२ केभी प्रसारण लाइन सञ्चालनमा, २०० मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार

0
Shares

नयाँ मोदी (पर्वत) लेखनाथ (कास्की) प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्र्तगत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ«े गाउँपालिका–४ मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइन बे निर्माण गरिएको छ ।

पर्वत, कास्की लगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।

आयोजना अन्तरगत पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन र लाहाचोक सबस्टेसन गत वर्षको पुसमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

लाहाचोक–लेखनाथ खण्ड प्रसारण लाइन निर्माण सम्पन्न गरी मंगलबार चार्ज गरिएसँगै नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘कोभिड–१९ को महामारी,लाहाचोक–लेखनाथ खण्डअन्तर्गत माच्छापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गर्दा निर्माण प्रभावित भएको थियो, आयोजना व्यवस्थापनको निरन्तरको प्रयास, स्थानीय तह, प्रशासन लगायत सबैको साथ र सहयोगमा समस्या समाधान गर्दै प्रसारण लाइन निर्माण सम्पन्न भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

‘त्यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब २०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ ।’ जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् नयाँ मोदी र लाहाचोक सबस्टेसनमा जोडी राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत् आपूर्ति दिइएको छ । यसवाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखरावाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो तथा गुणस्तरीय विद्युत् पाएको र प्राविधिक चुहावट समेत घटेको आयोजना प्रमुख रोशन अग्रवालले बताए ।

नयाँ मोदी– लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत १४० वटा टावर निर्माण गरिएको छ । लाहाचोक सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् ।सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११ केभीका फिडरहरु निर्माण गरिएको छ ।

कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र आयात–निर्यात (एक्जिम) बैंक, भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि ७ असार २०७५ मा क्रमशः कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारत र हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।