भुक्तानी प्रणाली तथा सेवा प्रदायकले सञ्चालक समिति बैंठकको प्रक्रिया नै पूरा गर्दैनन् : राष्ट्र बैंक

0
Shares

नेपालमा डिजिटल भुक्तानी सेवा प्रवाह गर्दै आएका भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक कम्पनीले सञ्चालक समिति बैंठककको प्रक्रिया पनि पूरा नगरेको भेटिएको छ । केन्द्रीय बैंकको सुपरिवेक्षणको क्रममा सञ्चालकको अनावश्यक सक्रियता तथा बैठकको प्रक्रिया समेत पूरा नगर्ने गरेको पत्ता लागेको हो ।

राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली सञ्चालन गर्ने तथा सेवा प्रदायक कम्पनीहरुले प्रक्रियागत ढङ्गबाट सञ्चालक समितिको बैठक नगरेको, कम्पनी सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधारको विकास नगरी सेवा प्रदान गरेको, सञ्चालनका विषयमा स्पष्ट आन्तरिक नीतिहरु नभएको र संस्थागत सुशासन कमजोर रहेको ठहर गरेको छ ।

केन्द्रीय बैंकको अनुगमन तथा सुपरिवेक्षका क्रममा भुक्तानी प्रदायक संस्थाहरुको दीर्घकालिन सबलीकरणको विषयमा देखिएका कमी कमजोरीहरु औंल्याइ सुधार गर्नुपर्ने सुझाएको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षमा ५ वटा भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरु र ११ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरुको सुपरिवेक्षण गरेको थियो ।

सो सुपरिवेक्षण अध्ययनले केही भुक्तानी सेवा प्रदायक तथा सञ्चालक कम्पनीहरुले राष्ट्र बैंकको सहमति बिना नै साधारण सभा गरेको समेत पत्ता लागेको छ । त्यसैगरी संस्थापक सेयरको कारोबार पनि कानुन विपरित गरेको प्रतिवेदनमा उल्लेख छ । कानुन अनुसार संस्थापक सेयर बिक्रीका लागि सञ्चालनको पाँच वर्षको अवधि पूरा भएको हुनुपर्छ । भुक्तानी कम्पनीहरुको प्रमुख कार्यकारी नियुक्त गर्दा न्यूनतम योग्यताको व्यवस्थालाई समेत पालना नगरेको प्रतिवेदनमा उल्लेख छ । त्यसका साथै यस्ता कम्पनीहरु स्पष्ट विनिमय, कार्यविधि र निर्देशिका बिना नै सञ्चालनमा आएको निष्कर्ष केन्द्रीय बैंकको छ ।

सुपरिवेक्षणका क्रममा यस्ता कमजोरीहरु देखिएपछि केन्द्रीय बैंकले केही कम्पनीहरुलाई कारबाही तथा सचेत गराएको छ । डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका प्रदायक तथा सञ्चालक कम्पनीहरुलाई नियमन गर्नका लागि सरकारले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ कार्यान्वयन गरेको छ । जसअन्तर्गत भुक्तानी सेवा प्रदायक तथा सञ्चालक कम्पनीले न्युनतम तीन सदस्यहरुको सञ्चालक समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

यस्तै संस्थालाई स्वतस्फूर्त रुपमा अघि बढाउन कम्पनीले विनियम, निर्देशिका र कार्यविधिलाई लागु गर्नुपर्ने उल्लेख छ । नेपालमा हाल १० वटा भुक्तानी सेवाप्रदायक र १० वटा भुक्तानी सेवा प्रणाली सञ्चालक कम्पनीहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।