एक्काइस अंकले घट्दै २०७० बिन्दुमा समेटियो नेप्से, खुम्चँदै कारोबार

0
Shares

सेयर बजार सूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार पनि २१.१५ अंकले घटेर २०७० दशमलव ४१ बिन्दुमा झरेको छ । अघिल्लो दिन बुधबार १३.९० अंक घटेर बन्द भएको सूचक बिहीबार थप दबाब देखिएको हो ।  कारोबार सुरु भएको आधा घण्टापछि सम्हालिएको नेप्से ४५ मिनेटसम्म केही वृद्धि भएपनि सवा १२ बजेपछि आएको बिक्री चापका कारण पुनः ओरालो लागेको थियो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि लगानीकर्ताहरुमा सेयर बजार प्रतिको विश्वास कमजोर बन्दा यो साताको चारदिन नै बजार ऋणात्मक बनेको हो । राष्ट्र बैंकले अघिल्लो साता सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले उनीहरुका अपेक्षित माग पूरा गर्न सकेन । यसबाट निराश बनेका उनीहरुमा बिग्रदो राजनीतिक वातावरण तथा फूटको संघारमा रहेको वर्तमान सत्ता गठबन्धनका कारण थप सशंय पैदा भएको देखिन्छ ।

यो साता नेप्से परिसूचक ११२.२२ अंकले घटेको छ । आइतबार २१८२.६४ बिन्दुमा खुला भएको नेप्से अन्तिम दिन बिहीबार २०७० दशमलव ४१ बिन्दुमा घटेको हो ।  बिहीबार २५६ कम्पनीका ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर ३५ हजार ७९ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँमा समेटिएको छ ।

कारोबारमा आएका १३ वटै उपसमूहगत सूचक ऋणात्मक बनेको छ । उत्पादन तथा प्रशोधन १.९३ प्रतिशत घटेको छ । ब्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत, फाइनान्स, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा । लगानी उपसमूहगत सूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज हिमालयन डिष्टिलरी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । डिष्टिलरीको ५ करोड ३८ लाख २७ हजार रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ ।अपि पावर कम्पनीको ५ करोड १३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४ करोड ३६ लाख, महिला लघुवित्त ४ करोड र नबिल बैंकको ३ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आजको बजारबाट युनिलिभर नेपालको सेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरमूल्य सर्वाधिक ५.९१ प्रतिशत घटेर २० हजार ७०० रुपैयाँमा झरेको छ । त्यसैगरी सिटिजन्स म्युचुअल फन्ड–१ को इकाई ५.७८, सपोर्ट लघुवित्त ५.५१, सिनर्जी पावर डेभलपमेन्टको ४.२९ र धौलागिरी लघुवित्तको सेयरमूल्य ४.२३ प्रतिशत घटेको छ ।

आजको बजारबाट सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । फन्ड इकाईमूल्य ७.६५ प्रतिशतले बढेर ९.०१ रुपैयाँ पुगेको छ । यस्तै राज्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ५.२३, प्रभु सेलेक्ट फन्ड २.०९, सबैको लघुवित्त २.०२ र इमर्जिङ्ग नेपाल लिमिटेडको १.९४ प्रतिशतले सेयरमूल्य वृद्धि भएको छ ।

बिहीबार बजारमा आएको गिरावटसँगै कुल बजार पूँजीकरणमा ३० अर्ब ५२ करोड रुपैयाँ क्षति भएको छ । सेयर बजारमा रहेको लगानीकर्ताहरुको सम्पत्ति मापन गर्ने कुल बजार पूँजीकरण आज २९ खर्ब ८७ अर्ब ७१ करोड १९ लाख रुपैयाँमा समेटिएको छ । ३० खर्ब १८ अर्ब २३ करोड ३४ लाख रुपैयाँमा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहिबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।