लुम्बिनी विकास बैंकले स्प्रेड वढाउदा पनि नाफा ३ प्रतिशतले मात्र बढ्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकले कर्जा तथा निक्षेपको ब्याज अन्तर स्प्रेड दर वढाउदा पनि खुद नाफा भने ३ प्रतिशतले मात्र वढेको छ । बैंकहरुले स्प्रेड दर वढाउदा निक्षेपमा दिने ब्याज र कर्जामा पाउने ब्याजको अन्तरवाट हुने आम्दानी वढ्छ ।

बैंकले चालु आवको असोजसम्ममा ११ करोड ९९ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा ३.०९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा बैंकले ११ करोड ६३ लाख रुपैयाँ नाफा गरेको थियो । तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा एक करोड ७३ लाख रुपैयाँ छ ।

चालु आवको असोजसम्ममा बैंकमा २३ अर्ब १२ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने २१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधिमा बैंकको खर्च समान्य वढेको छ भने खुद आम्दानी ६ करोड १९ लाख रुपैयाँले वढेको छ ।

हाल २ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको सञ्चित कोषमा एक अर्ब १७ करोड २६ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको सञ्चित कोषमा एक अर्ब ४४ करोड ३२ लाख रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर घटेर ११.३० प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर ११.८८ प्रतिशत थियो । यो असोजसम्ममा बैंकको कोषको लागत भने वढेर ८.६८ प्रतिशत कायम भएको छ । यस्तो लागत गत आवको सोही अवधीमा ८.६१ प्रतिशत थियो ।

तर, बैंकको चालु आवको पहिलो त्रैमासमा खराव कर्जाको अंश भने घटेको छ । यस अवधिमा बैंकको खराव कर्जा २ प्रतिशत छ । गत आवको असोजसम्ममा बैंकको खराब कर्जा २.८६ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङक अनुसार बैंकको प्रतिसेयर आम्दनी १८.५५(बार्षिक) रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको प्रतिसेयर आम्दानी १४.९३ रुपैयाँ थियो । सो अवधीमा बैंकको मूल्य आम्दानी अनुपात ९.३३ गुणा रहेको छ ।