शेयर मूल्य घटेपछि कारोबारमा सुधार, व्यापार र अन्य बाहेक सबै सूचक घटे

0
Shares

दोस्रो बजार सूचीकृत अधिकांस कम्पनीहरुको शेयर मूल्य घट्दा कारोबार रकममा भने सुधार देखिएको छ । सूचीकृत अधिकांस कम्पनीहरुले नाफा बढेको विवरण सार्वजनिक गरेका छन् । कम्पनीहरुले नाफा बढेको विवरण सार्वजनिक गर्दा समेत लगानीकर्ताको आर्कषण बढ्न सकेको छ्रैन् ।

तर, नाफा घटेको वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुको शेयर बिक्रीमा चाप देखिएको छ । जसले गर्दा आइतबारको बजारमा धेरै शेयर मूल्य घट्ने कम्पनीमा अधिकांश नाफा घटेका कम्पनीहरु रहेका छन् । शिवम सिमेन्ट, ओरियन्टल होटल लगायतको कम्पनीको नाफा घट्दा शेयर मूल्य उच्चरुपमा घटेको छ ।

यसदिन शिवम सिमेन्टको शेयर मूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता ४८ रुपैयाँले घटेर ४४३ रुपैयाँमा झरको छ । ओरेन्टियलको ६ प्रतिशत बढी शेयर मूल्य घट्दा गुडविल फाइनान्स, खानिखोला हाइड्रो लगायत ७९ कम्पनीको शेयर मूल्य घटेको छ।

आइतबार नेप्से सूचक ४.५९ अंकले घटेर ११३१.३६ अंकमा झरेको छ। सूचकमा गिरावट आए पनि कारोबार रकम ३५ करोड ५१ लाख रुपैयाँ पुगेको छ। शेयर मूल्य घटेपछि लगानीकर्ताले शेयर खरिदको क्रम बढाउँदा कारोबारमा सुधार आएको हो । गत बिहीबार २३ करोड बराबरको शेयर किनबेच भएको थियो । यसदिन १६३ कम्पनीको कारोबार भएकोमा ७९ कम्पनीको शेयर मूल्य घटेको छ भने ५४ को बढेको छ । १८ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

शिवम् सिमेन्टको चार करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा एनआईसी एशियाको पनि करिब चार करोड बराबरकै किनबेच भयो । नेपाल बैंक, एनआईसी एशिया, शिवम सिमेन्ट तथा एनएमबि बैंकको धेरै कित्ता शेयर किनबेच भएको छ ।

साल्ट ट्रेडिङको आज पनि बढ्ने क्रममा सर्किट लागेको छ। आइतबार कम्पनीको शेयर मूल्य ९४ रुपैयाँले बढेर १०३७ रुपैयाँमा कारोबार भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । यस्तै घोडीघोडा लघुवित्त र पाँचथर पावरको शेयर मूल्य पनि दश प्रतिशतकै हाराहारीमा बढेको छ । यसदिन व्यापार र अन्य बाहेक सबै समूहका सूचक नकारात्मक रहेका छन् ।