‘करदातालाई सरकारले कहिल्यै अँधेरोमा राख्दैन’ : अर्थमन्त्री

0
Shares

सरकार व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको उचित व्यवस्थापनमा अग्रसर देखिएको छ । कर प्रणालीलाई समयसापेक्ष व्यवस्थापन गर्दै मोबाइलबाटै कर तिर्नसक्ने गरी प्रविधिमैत्री बनाउन लागिपरेको सरकारले जनाएको छ ।

आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आज राजधानीमा आयोजित समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा वित्तीय संघीयता कार्यान्वयनसम्बन्धी र करसँग सम्बन्धित सबै कानुनको व्यवस्थापन गरिसक्ने जानकारी दिँदै भने, “व्यावसायिक वातावरण नबिग्रने गरी नै हामी काम गर्छाैँ, अझै मोबाइलबाटै कर तिर्ने व्यवस्थातर्फ सरकार अग्रसर छ ।” करदातालाई सरकारले कहिल्यै अँधेरोमा नराख्नेसमेत उनले प्रष्टाए ।

पछिल्लो समयमा सरकारले आयातलाई छाडेर आन्तरिक उत्पादनमा आधारित कर प्रणालीलाई प्रोत्साहन गरिरहेको छ । आवश्यक वस्तुको आयातमा सहजीकरण र प्रोत्साहित गर्ने, अरुलाई आफ्नो उत्पादनले प्रतिस्थापन गर्ने र केही आयातलाई भन्सार र मूल्याङ्कनको विधिबाट व्यवस्थापन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको छ ।

अर्थमन्त्री डा खतिवडाले संघीयतामा धेरै तहका सरकार हुने र सोहीअनुसारको कर प्रणाली हुँदा व्यावसायिक लागत बढ्छ भन्ने कुरालाई सरकारले व्यवस्थापन गरिसकेको भन्दै ‘डुइङ विजनेस इन्डेक्स’ले त्यो कुरा देखाइसकेको बताए । गत वर्ष उक्त इन्डेक्समा नेपाल ११०औँ स्थानमा थियो भने अहिले ९४ आएको छ ।

“राजस्व प्रणालीमा करका कुरा नगर्ने हो भने ऋणको बाटो जाँदा कुनै न कुनै दिन मुलुक सङ्कटमा पर्छ, हामीले अल्पकालीन लोकप्रियताको कुरा गरेर हुन्न दीर्घकालीन सोच राख्नुपर्छ, भोलिको लागि पनि जवाफदेही भएर बस्नुपर्छ, शुरुका दिनमा अप्ठ्यारो भएको होला तर पछि हामी सहज व्यावसायिक वातावरण बनाउँछौँ” अर्थमन्त्री डा खतिवडाले भने । करमैत्री वातावरण हुनुप¥यो भनेर व्यवसायीले राखेको जिज्ञासामा मन्त्री खतिवडाले व्यवसायीको कुरा सुनेर नै सरकारले व्यावसायिक क्षेत्रका समस्या रोक्न दरमा केही परिवर्तन गरिएको जानकारी दिए ।

स्वाधीन अर्थतन्त्र बनाउने बाटोमा क्षमताअनुसारको कर लगाएर हिँड्ने या आजबाट करमुक्त भयो भनेर हामी सबैभन्दा बढी ऋणयुक्त मुलुकको बनेर हिँड्ने दुई बाटोमध्ये पहिलो बाटोमा अहिले सरकार लागेको उनले बताए। उनले राजस्व प्रणालीबाट खर्चको ठूलो अंश धानेकाले नेपाल दक्षिण एसियामा सबैभन्दा कम ऋण भएको मुलुुक बनेको दाबी गरे ।