सिभिललाई गाभेपछि हिमालयन बन्यो सातौँ ठूलो बैंक

0
Shares

हिमालयन बैंक सिभिल बैंकलाई प्राप्ति गरेपछि नेपालको बैंकिङ क्षेत्रको सातौँ ठूलो बैंक बनेकोे छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ सेयर आदान प्रदान अनुपातमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् ।

प्राप्ति पछि हिमालयन बैंक लिमिटेडको नामबाट फाल्गुण १२ गते शुक्रबारदेखि एकिकृत कारोबार सुरु गरेको छ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सिभिल बैंकलाई गाभेपछि बनेको हिमालयन बैंकको अधिकृत पुँजी २६ अर्ब, कुल सम्पत्ति ३३४ अर्ब सहित बैंक सातौँ ठूलो बैंक हुन पुगेको हो । यस्तै बैंकको चुक्ता तथा जारी पुँजी २१ अर्ब ६५ करोड, कुल पुँजी ३४ अर्ब, कुुल निक्षेप २७४ अर्ब र कुल कर्जा २५० अर्ब पुगेको हो ।

एकीकृत कारोबार सुरु भएको घोषणा गर्दै प्राप्तिले बैंकलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै बढ्ने हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले बताए।

नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति नीति पालना गर्दै अरु बैंकहरु मर्जरमा जाँदा हिमालयन र सिभिल बैंकका सञ्चालकहरुले मर्जरमा जाने सहमति गरेपछि प्राप्तिको काम अघि बढेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बताए।

राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको जनाए । हिमालयन बैंक आफैंमा ठूलो भएको जनाउँदै उनले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताए।

हिमालयन बैंक देश कै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेको र आगामी दिनमा बैंकले ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रविधियुक्त सेवा सुबिधा प्रदानमा केन्द्रित हुने उद्देश्य रहेको राणाले जिकिर गरे ।

यस्तै सिभिल बैंकका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए ।

मर्जर पछि हिमालयन बैंक कुल निक्षेप, कुल सम्पत्ति र इक्युटीका आधारमा सातौँ शीर्ष बैंक, कर्जाका आधारमा छैठौँ शीर्ष, खुद र कुल ब्याज आम्दानी गर्ने बैंकहरुमध्ये चौथो ठूलो बैंक भएको हो । नेपाल भर बैंकका १८९ शाखाहरु, २० विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएम बुथ सञ्चालनमा रहेका छन् ।

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायी प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रको बैंक हो । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ, फैशल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार  १४ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।