सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड

0
Shares

सानिमा मिडिल तमोर हाइड्रोपावरले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । ब्रिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार फागुन १४ गते आइतबार आईपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको ४ लाख ९९ हजार ८७५ कित्ता सेयर बाँडफाँड गरिएको हो । यसमा वैदेशिक रोजागरीमा रहेका नेपालीहरूले अधिकतम ४० कित्ताका दरले सेयर पाएका छन् । सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणमा निष्काशन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर निष्कासनका लागि छुट्टाएको थियो । सोमध्येको १० प्रतिशत बराबरको ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि माघ ४ देखि १८ गतेसम्मका लागि निष्काशन गरेको थियो ।

यस्तै आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका स्थानीय बासिन्दाका लागि जारी गरेको सेयर पनि आइतबार नै बाँडफाँड गरेको छ । कम्पनीले स्थानीयहरुका लागि जारी पुँजीको १५ प्रतिशत अर्थात् ३३ लाख ३२ हजार ५०० कित्ता सेयर माघ ४ गतेदेखि माघ १९ गतेसम्मका लागि निष्काशन जारी गरेको थियो ।

सेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, सेयर निष्कासनकर्ता कम्पनी सानिमा मिडिल तमोरको वेबसाइट र भौतिक रुपमा आवेदन बुझाएका आवेदकहरुले आफूले आवेदन फारम बुझाएको सम्बन्धित संकलन केन्द्रहरुमा सम्पर्क राखेर हेर्न सक्नेछन् । साथै सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले बाँडफाँडमा परेको विवरण सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट सञ्चालित वेबसाइटबाट हेर्न सक्नेछन् ।

संकलन केन्द्रहरुबाट दरखास्त फारम बुझाएका लगानीकर्ताहरुको बाँडफाँडमा नपरेका सेयर वापतको रकम फागुन २९ गतेदेखि सम्बन्धित आवेदकहरुले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता हुने सानिमा क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।