नेपाल बैंकको लाभांशले कारोबारलाई साथ दिएपनि नेप्सेमा छाएन उत्साह

0
Shares

झण्डै २३ बर्षपछि आफ्ना शेयरधनीलाई नेपाल बैंकले लाभांश घोषणा गर्दा शेयर कारोबारमा बढोत्तरी आएपनि समग्रमा नेप्सेमा भने कुनै उत्साह जाग्न सकेन ।

सोमबार नेप्से झिनो अंकले भएपनि राताम्यै रह्यो। ०.२४ अंकले घटेको नेप्से ११३१.१२ विन्दुमा झरेको छ । यसदिन १६० कम्पनीको ११ लाख ८८ हजार कित्ता शेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भयो।

नेपाल बैंकको मात्रै ८ करोड ३९ लाख बराबरको कारोबार भएको छ । लाभांश घोषणाले नेपाल बैंकको कारोबार एकाएक बढेपनि बजार भाउ भने एक रुपैयाँले मात्र बढेको छ । नेपाल बैंकको शेयर प्रतिकित्ता ३२० रुपैयाँमा कारोबार भयो ।

कारोबार बढे पनि मूल्य नबढ्दा नेपाल बैंकको लाभांशले पनि लगानीकर्तालाई उत्साहित बनाउन नसकेको स्पष्ट्र हुन्छ । किनकी मार्केट डेप्थमा अधिकांस लगानीकर्ता शेयर भाउ घटाएर शेयर खरिद गर्ने क्रममा देखिन्थ्थे । नेपाल बैंकले सोमबार १५ प्रतिशत बोनस र १० प्रतिशत नगदगरी २५ प्रतिशत लाभांश घोषणा गरेको छ।

दोस्रोमा उच्च कारोबार हुने कम्पनी एनएमबि बैंकको करिब चार करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। यसदिन कारोबार भएका १२ वटा समूहमध्ये ८ वटा समूहको सूचक बढेको छ भने चार समूहको घटेको छ ।

यस दिन पनि साल्ट ट्रेडिङको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ । त्यस्तै घोडीघोडा लघुवित्तको पनि सर्किट ब्रेकर लाग्ने गरी भाउ बढेको छ । सिनर्जी पावर डेभलपमेन्ट, बिशाल बजार कम्पनीको पनि शेयर भाउ बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा युनिभर्सल पावरका लगानीकर्ता छन् । यसको भाउ ५ प्रतिशत बढीले घटेको हो । त्यस्तै हिमालयन पावर पार्टनर, पाँचथर पावर पार्टनर, सानिमा माई हाईड्रो लगायतका कम्पनीको शेयर मूल्य घटेको छ ।