नेप्से ३१ अंकले घट्यो, सुपरमादीमा सकारात्मक र सामालिङ्ग पावरमा नकारात्मक सर्किट

0
Shares

सेयर बजार सूचक मापक नेप्सेले साताको पहिलो कारोबार दिन नै ३०.७७ अंकको उच्च गिरावटको सामना गरेको छ । फागु पूर्णिमा (होली) को अघिल्लो कारोबार दिन कारोबारमा आएका सबै उपसमुहगत सूचकमा रातो पोतिएपछि बजार सूचक तल झरेको हो ।

ब्याजदर बिरुद्दमा चर्किएको उद्योगी–व्यवसायीहरुको आन्दोलन र लघुवित्त प्रतिको आम्दोलन, सत्ता समीकरणको फेरबदलपछि राजनीतिक क्षेत्रमा देखिएको अन्यौलता, भावी अर्थमन्त्री को बन्लान् भन्ने आशंकाबीच बजारल लय गुमाएको हो ।

आइतबार १३ वटै उपसमूहगतको परिसूचक ऋणात्मक हुँदा उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक ३.०३ प्रतिशत घटेको छ । लघुवित्त, होटल तथा पर्यटनमुलक र जलविद्युतको परिसूचक पनि २ प्रतिशतभन्दा बढीले घट्न पुग्यो । जीवन बीमा, विकास बैंक, वित्त, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशत धेरैले घटेको छ ।

आइतबार खुलेको ९ मिनेटबाटै ओरालो लाग्न थालेको नेप्से ३०.७७ अंक घटेर १९३८ .२५ बिन्दुमा झरेर बन्द भएको छ । यस दिन ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स १.३० प्रतिशत अर्थात ४.८६ अंक घटेको छ । आज कारोबार रकम १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँमा समेटिएको छ । २५९ क्रिप्टका ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर ३० हजार ९०३ पटक वटा संख्यामा खरिद बिक्री भएका छन् ।

हिमालयन डिष्टिलरी कारोबार रकमका आधारमा यस दिन शीर्ष स्थानमा छ । डिष्टिलरीको ८ करोड ४४ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट्सको ५ करोड ४८ लाख, एशियन लाइफ इन्स्योरेन्सको संस्थापक ३ करोड ८९ लाख, नबिल बैंक ३ करोड ४५ लाख र एशियन लाइफको साधारण सेयर ३ करोड ४५ लाख रुपैयाँकाे सेयर खरिद बिक्री भएको छ । यस्तै छिमेक लघुवित्तको २ करोड ८ ६२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५६ लाख रुपैयाँ र निफ्राको २ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

घट्दो बजारमा पनि आजदेखि दोस्रो बजारमा कारोबार खुला भएको सुपर मादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर १० प्रतिशत अर्थात २९ रुपैयाँ ९० पैसा बढेर ३२८ रुपैयाँ ९० पैसा पुगेको छ ।  त्यस्तै युनिक नेपाल लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशत, एनएमबि ५० को इकाई ३.६५, एनआईबिएल प्रगति फन्डको इकाई ३.३५ प्रतिशत र सानिमा डिबेञ्चर २०८७ को मूल्य २.८७ प्रतिशत बढेको छ ।

यता सामलिङ्ग पावर कम्पनीका सेयरमा लगानी गरेकाहरुले आजको बजारबाट सर्वाधिक गुमाएका छन् । नकारात्मक सर्किट लागेर ५७ रुपैयाँ घटेपछि कम्पनीको प्रतिकित्ता मूल्य ५१३ रुपैयाँमा झरेको छ । त्यसैगरी आदर्श लघुवित्तको ७.५४ प्रतिशत, खप्तड लघुवित्तको ७.४२, उपकार लघुवित्त ६.९६ र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ ।

गत आइतबार ४.६५ अंकले बढेको नेप्से त्यसपछि घट्न थालेको थियो । अघिल्लो सोमबारदेखि घटेर आइतबार पनि निरन्तरता पाउँदा पछिल्लो पाँच कारोबार दिनमा नेप्सेमा ८८.९४ अंकको गिरावट आएको छ ।

आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण २८ खर्ब ४६ करोड ५३ लाख रुपैयाँमा समेटिएको छ । गत बिहीबार कुल बजार पुँजीकरण २८ खर्ब ४४ करोड ९२ लाख रुपैयाँ रहेको थियो । आइतबार मात्रै बजार पुँजीकरण ४४ अर्ब ४५ करोड ९१ लाख रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।