राष्ट्रिय बीमा संस्थानको पूँजीभन्दा जगेडा कोष मजबुत, खुद नाफामा २९५% को छलाङ्ग

0
Shares

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको चुक्ता पूँजीभन्दा जगेडा कोषको आकार मजबुत बनेको छ। चालु आवको प्रथम त्रैमासमा खुद नाफा बढाएको यस कम्पनीले आफ्नो अधिकांश सूचकहरुमा छलाङ्ग मारेको छ।

चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको संस्थानको जगेडा कोषमा १८ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। गत आवको यसै अवधिमा १७ करोड ४१ लाखको जगेडा कोष रहेकोमा ६९ लाखले बढाएको हो।

यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि एक करोड ७४ लाख ८० हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा एक करोड ३० लाख ६४ हजार रुपैयाँ अर्थात २९५.८३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थानले ४४ लाख १६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

संस्थानले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट ४५ करोड २७ लाख रुपैयाँ, बीमा लेख धितोबाट २ करोड ४९ लाख रुपैयाँ र अन्य प्रत्यक्ष आय वापत ४५ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थानको जीवन बीमा कोषको आकार २४ अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिकोे तुलनामा संस्थानको जीवन बीमा कोष ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँले बढेको हो। गत वर्षको यस अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोषमा १६ अर्ब २१ करोड ३९ लाख रुपैयाँ सञ्चित थियो।

संस्थानले यस अवधिमा ४ अर्ब ९ करोड ९० लाख खुद बीमा शुल्क आर्जन गरेर गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३ अर्ब ३० करोड ४२ लाख रुपैयाँले बढी हो। गत वर्षको यस अवधिमा संस्थानले ७८ करोड ५९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो।

नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो। संस्थान राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ।
संस्थानमा हाल ६ लाख ८६ हजार २२६ बीमा कायम छ भने यस अवधिमा ४ हजार ७३ दाबीको भुक्तानी गरेको छ।

स्वीकृत