मुद्रास्फीति घटाउन आवश्यक कदम चाल्ने ईसीबी अध्यक्षको प्रतिवद्धता


युरोपेली केन्द्रीय बैंक (ईसीबी)का अध्यक्ष क्रिस्टीन लेगार्डले उच्च मुद्रास्फीति घटाउन र मूल्य स्थिरता कायम गर्न आफ्नो तर्फबाट उपयुक्त कदम चाल्ने बताएकी छन् ।

जेनेभामा आयोजित विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा बोल्दै लेगार्डले युरो क्षेत्रका अधिकांश देशहरूमा देखिएको मुद्रास्फितिसँग जुध्न ईसीबीले कुनै कसर बाँकी नराख्ने बताएकी हुन् ।

“हामी त्यो मूल्य स्थिरता पुनः स्थापित गर्नेछौं र आवश्यक जे कदम चाल्नु परे पनि पछि हट्ने छैनौँ,” उनले भनिन् “उच्च मुद्रास्फीतिको मुख्य शिकार हुनेहरू विपन्न, कमजोर छन् । यो राम्रो स्थिति होइन ।”

विश्व व्यापार सङ्गठनका प्रमुख नगोजी ओकोन्जो–इवेलासँग अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै लेगार्डले मुद्रास्फीतिको समस्या सबैभन्दा बढी महसुस गर्नेमा महिला रहेको बताइन् ।

उनले भनिन्, “सबैभन्दा कम तलब पाउने महिला नै हुन् ।”ईसीबीले मुद्रास्फीतिलाई दुई प्रतिशतको लक्ष्यमा फर्काउन गत जुलाईदेखि अभूतपूर्वरूपमा ब्याज दर बढाएको छ ।

गत हप्ता, लेगार्डले भनिन्, “यूरोक्षेत्रमा थप ब्याज दर वृद्धिको आवश्यकता हुन सक्छ किनकि यसले पहिले नै सङ्केत गरेको आधा प्रतिशत अङ्कको वृद्धि यस महिनाको अन्त्यमा आउनेछ ।ईसीबीको अध्यक्षको रूपमा, मेरो काम सीमित छ, तर यो गम्भीर रूपमा महत्त्वपूर्ण छ, र यो मूल्य स्थिरता हो,” 

उनले युक्रेनविरुद्धको भयानक युद्धले निम्त्याएको ऊर्जा संकटले उत्पन्न गरेको मुद्रास्फीतिसँग लड्नु विश्व समुदायको बाध्यता बनेको पनि बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ फागुन २०७९, बिहीबार  ०६ : ५४ बजे