साउन र चुरा

सुस्ताएको इन्द्रचोक, साउनको ‘सिजन’मा पनि टोलाएर बसेका व्यापारी


काठमाडौँ । साउन महिना नेपाली महिलाहरुका लागि धार्मिक र सांस्कृतिक मात्र होइन, काठमाडौँको कोर सिटीका व्यापारीहरुका लागि ‘आर्थिक लाइफलाइन’ पनि हो । विषेशगरी काठमाडौँको इन्द्रचोकका व्यापारीहरुले यो सिजनलाई वर्षभरीको ‘भोक मेट्ने सिजन’को रुपमा लिने गरेका छन् ।

तर, व्यापारीहरुलाई यो सिजनको कथा छुट्टै भयो । इन्द्रचोकको एउटा सानो कुनामा हरिया, राता, पहेला पोतेका गुच्छा लहरै झण्डिएका छन् । काँचका चुराहरु घामको प्रकाशमा लामबध्ध सजिएर बसेका छन् । व्यापारीहरु इन्द्रचोकलाई सजाउन मात्र बसेका हुन् जस्तो देखिन्छन् ।

वातावरण साउनमय छ, तर ४५ वर्षिय सफिक अन्सारी हातमा पोतेका गुच्छा लिएर टोलाएरै बसेका छन् । उनको अनुहारमा कुनै रौनक छैन । विगतका वर्षहरुमा व्यापार गर्न भ्याइनभ्याइ हुने बताउने उनी यो वर्ष ओहोर दोहोर गरेर बसेका मान्छेको अनुहार मात्रै हेरिरहेका छन् । कोही पसलमा आउँछन् कि भन्ने आशमा ।

‘विगतमा यो सिजनमा पानी खाने फुर्सद पनि हुँदैनथ्यो ।’ उनले भने ‘पहिलाको तुलनामा त अहिले ५० प्रतिशत व्यापार पनि छैन ।’

सामानको मूल्य बढेकोले पनि ग्राहकहरुको कमी भएको हुन सक्ने उनको अनुमान छ । औँलामा धागो बेर्दै सुस्केरा हाल्दै भन्छन्, ‘१२ बजिसक्यो, हजार रुपैयाँको पोते पनि बिक्री भएको छैन । सामान हेर्छन्, भाउ सोध्छन् जान्छन् ।’

आफुहरुले चाइनाबाट सामान ल्याउने गरेको बताउँदै उनी चाइनाको मुद्राको भाउ बढेकोले मंहंगी बढ्दा व्यापार नभएको उनी बताउँछन् ।

‘साउनमा व्यापार होला भनेर हामीले सामान थुपारेका थियौ, साउन र तीजको लागि ऋण काढेर सामान ल्यायौँ तर व्यापार ५० प्रतिशतभन्दा बढीले घट्ला जस्तो छ ।’ साउनको पहिलो हप्ताको व्यापार नै सोचेजस्तो नभएकोले उनले अब व्यापार होला भन्ने आश नै मारेका छन् ।

इन्द्रचोक केवल एउटा बजार मात्र होइन, काठमाडौँको ऐतिहासिक संस्कृति र अर्थतन्त्रको ऐना पनि हो । साउनको हरियो सिजनमै यहाँको व्यापार सुस्ताउनुले मुलुकको तल्लो तहसम्म आर्थिक मन्दीको असर कति गहिरोसँग परेको छ भन्ने देखाउँछ ।
इन्द्रचोकमा ८÷१० फिटको सानो सटर वा लहरै बसेर व्यापार गर्ने ठाउँको भाडा नै मासिक ५० हजारदेखि लाखौँ रुपैयाँसम्म पर्छ । साउन र तीजको व्यापारले वर्षभरिको भाडा र कर धान्दै आएका व्यापारीहरू अहिले घरबेटीलाई के बुझाउने भन्ने चिन्तामा छन् ।

यता, इन्द्रचोकमै व्यापार गरिरहेका अब्दुल रसिद अन्सारी अनलाइन व्यापारले अन्य व्यापारलाई विस्थापित गरेको बताउँछन् ।
‘नयाँ पुस्ताका मानिसहरु इन्द्रचोकको भीडभाडमा सास्ती खेप्न चाहँदैनन् । टिकटक, इन्स्टाग्राम र अनलाइन स्टोरहरूले घरमै सामान पु¥याइदिने भएपछि परम्परागत बजारको रौनक डिजिटल स्क्रिनतिर सरेको छ’ उनले भने ।

काठमाडौँ महानगरले कोर सिटीमा गाडी र पार्किङमा गरेको कडाइका कारण चक्रपथ बाहिर वा उपत्यका बाहिरबाट आउने ग्राहकहरू असन–इन्द्रचोक छिर्न छाडेको अन्सारी बताउँछन् । ‘अचेलका मानिस सुविधा खोज्छन्, यहाँ ५ मिनेट पर पार्किङ गरेर आउनु पर्ने अवस्था छ । अनि मेरो पसलसम्म किन आइपुग्छन् । पार्किङको नजिकै सामान किन्छनु् नि । ’

व्यवस्थितको चक्करमा आफुहरु विस्थापित हुनु पर्ने अवस्था आएको उनी बताउँछन् ।

यता, इन्द्रचोककै गल्लीमा हिडिरहेकी सबिता गौतम महंगीकै कारण यो वर्षको साउनमा चुरा पोते किन्ने सोच नबनाएको बताउँछिन् । उनले भनिन्, ‘ श्रृङ्गार दोस्रो प्राथमिकतामा पर्दो रहेछ । पहिले सोखले किनिन्थ्यो, यसपालि परम्परा धान्न गत वर्षकै चुरा लगाउँछु । नयाँ किन्दिन । ’

सरकारले शिक्षा, स्वास्थ्यमा कर लगाएको छ, छोराछोरी पढाउनु हुर्काउनु पहिलो प्राथमिकता भएकोले यो वर्ष श्रृङ्गारमा खर्च नगर्ने उनी बताउँछिन् । उता, सागसब्जीदेखि खाद्यान्नसम्मको मूल्य आकासिएपछि सर्वसाधारणको थप खर्च गर्ने क्षमता शून्यप्रायः बनेको उनी बताउँछिन् । मानिसहरू गाँस, बास र कपासकै चिन्तामा भएपछि श्रृङ्गार र फेसनको व्यापारमा सिधै मन्दी आउनु स्वभाविक भएको उनको भनाइ छ ।

साउन फेसन होइन । यो परम्परासँग जोडिएको पर्व हो । आधुनिक आँखाले यसलाई एउटा मौसमी फेसन वा व्यापारिक खपतका रूपमा मात्र हेर्न सक्छ, तर यसको मूल मर्म त्योभन्दा कयौँ गुना गहिरो छ ।

नेपाली समाजमा साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ । विशेष गरी महिलाहरू आफ्ना परिवारको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै सोमबारे व्रत बस्छन् । हरियो र रातो रङलाई सौभाग्य, समृद्धि र उमङ्गको प्रतीकका रूपमा लिइन्छ । त्यसैले हत्केलामा सजिने मेहन्दीको रातो रङ र नाडीमा सजाइने काँचका चुरा केवल गहना होइनन्, तिनमा आस्था र समर्पणको भावना जोडिएको हुन्छ । तर, यहि समयमा इन्द्रचोक यसरी सुनसान हुनुले केवल व्यापार घटेको सङ्केत गर्दैन, देशको अर्थतन्त्रको जग कतिसम्म हल्लिएको छ भन्ने कुरा पनि देखाएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १२ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।