‘प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले सीमा वार्तामा नेपालको दाबीलाई कमजोर बनाउँछ’ (अन्तरवार्ता)


काठमाडौँ । हालै प्रधानमन्त्रीले ’नेपालले पनि भारतको भूभाग मिचेको छ’ भनी दिएको अभिव्यक्ति राजनीतिक र सामाजिक वृत्तमा निकै विवादित बनेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर नेपाल–भारत सीमा मामिलाका जानकार (सीमाविद्) बुद्धि नारायण श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्रीले ’नेपालले पनि भारतको भूभाग मिचेको छ’ भनी संसद्मा दिएको अभिव्यक्ति र दाबीलाई तपाईंले कसरी हेर्नुभएको छ ?

प्रधानमन्त्रीको यो भनाइ पूर्णतः गलत र तथ्यहीन छ । नेपालले भारतको भूभाग कहिल्यै पनि मिचेको छैन र मिच्न सक्ने परिस्थिति पनि छैन ।

भारतले नेपालसँगको सीमा सुरक्षाका लागि मात्रै करिब ४५ हजार सशस्त्र सीमा बल परिचालन गरेको छ । सीमा क्षेत्रमा नेपालीले सामान्य केही गर्दा त भारतीय सुरक्षा बलले तत्कालै हस्तक्षेप र कुटपिटसम्म गर्ने अवस्था छ । यस्तो संवेदनशील परिस्थितिमा नेपालले भारतको भूमि मिच्ने कुरा सोच्न पनि सकिँदैन ।

मलाई के लाग्छ भने, प्रधानमन्त्रीज्यूले सीमा क्षेत्रमा हुने ’क्रस होल्डिङ अकुपेसन’ (सीमापार भोगचलन र दखल) को विषयलाई नबुझी वा गलत व्याख्या गरेर यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको हो ।

हाम्रा प्रधानमन्त्रीले जनताको स्तरमा भएको सामान्य भोगचलनको विषयलाई देशले नै सीमा मिचेको जस्तो गरी राष्ट्रिय स्तरको विवादसँग जोडेर ठूलो गल्ती गर्नुभयो ।

यो ’क्रस होल्डिङ अकुपेसन’ (सीमापार भोगचलन) भनेको वास्तवमा के हो ? सीमा क्षेत्रमा यसको अवस्था कस्तो छ ?

यो भनेको राष्ट्रिय स्तरमा सीमा मिचिएको विषय होइन, बरु सीमा क्षेत्रमा बस्ने दुवै देशका किसानहरूले व्यावहारिक रूपमा एकअर्काको सानो–तिनो जमिन (दुई–चार कठ्ठा) भोगचलन गरिरहेको अवस्था हो ।

मेरो अध्ययन र तथ्यहरूले के देखाउँछन् भने, तराईका २० जिल्लाहरूमध्ये भारतले नेपालका १३ वटा जिल्लाका ८५ स्थानमा यसरी नेपाली भूमि भोगचलन गरिरहेको छ । अर्कोतर्फ, नेपालका तर्फबाट ४ वटा जिल्लाका १८ वटा स्थानमा भारतीय भूभाग नेपाली किसानहरूले भोगचलन गरिरहेको अवस्था छ ।

यो विशुद्ध जनताको स्तरमा भएको व्यावहारिक लेनदेन वा दखलको कुरा हो । यसैलाई आधार मानेर प्रधानमन्त्रीले देशकै स्तरबाट ’नेपालले भारतको सीमा मिच्यो’ भन्नु अज्ञानता र अपरिपक्वता हो ।

अचम्मको कुरा त के छ भने, स्वयम् भारत सरकारले समेत आजसम्म नेपालले आफ्नो भूमि मिचेको भनेर कहिल्यै औपचारिक दाबी गरेको छैन ।

त्यसैले प्रधानमन्त्रीले राष्ट्रिय सार्वभौमिकतामा आँच आउने गरी दिएको यो अभिव्यक्ति तत्काल सच्याउनुपर्छ, देशवासीसँग माफी माग्नुपर्छ र संसद्को रेकर्डबाट यो विवादित भनाइ हटाउनुपर्छ (मेट्नुपर्छ) भन्ने हाम्रो स्पष्ट माग छ।

भारतले त अब ’हामीले मात्र होइन, नेपालले पनि हाम्रो भूमि मिचेको रहेछ’ भन्ने बहाना बनाउने बाटो पाउँछ ।

नेपाल र भारतबीच सीमा विवादका प्रमुख क्षेत्रहरू कुन–कुन हुन् र समस्या वास्तवमा कहाँ छ ?

हाम्रो सबैभन्दा ठूलो र मुख्य समस्या दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा छ। यहाँ नेपालको करिब ३७२ वर्ग किलोमिटर भूभाग भारतद्वारा मिचिएको छ।

दोस्रो ठूलो विवाद नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा छ, जहाँ १४५ हेक्टर नेपाली जमिन मिचिएको छ। यसबाहेक सीमाका अन्य विभिन्न स्थानहरूमा ९९ वर्ग किलोमिटर भूभाग मिचिएको छ। समग्रमा हेर्दा भारतले नेपालको कुल ६०६ वर्ग किलोमिटर भूभाग अतिक्रमण गरेको स्पष्ट तथ्याङ्क छ।

कानुनतः यसरी एक देशको नागरिकले अर्को देशको भूमि भोगचलन (क्रस होल्डिङ) गर्न मिल्छ कि मिल्दैन ? यसको कानुनी समाधान के हो ?

कानुनी रूपमा एक देशको नागरिकले अर्को देशको भूभाग यसरी मिचेर वा अनधिकृत रूपमा भोगचलन गर्न कति पनि मिल्दैन । यसको सही समाधान भनेको दुवै देशका प्राविधिक तथा सरकारी टोलीहरु बसेर वैज्ञानिक ढङ्गले कुन–कुन ठाउँमा कसरी सीमा हेरफेर भएको छ वा मिचिएको छ भन्ने पत्ता लगाउनु हो । तथ्यका आधारमा आपसी संवाद र कूटनीतिक माध्यमबाट नै यसलाई व्यवस्थित र समाधान गरिनुपर्छ ।

त्यसोभए ’सीमा मिचिनु’ र ’भोगचलन हुनु’ मा त आकाश–जमिनको फरक देखियो नि !

होइन एकदमै फरक छ । ’भोगचलन’ भनेको विशुद्ध जनता र किसानको स्तरमा हुने सानो–तिनो जमिनको व्यावहारिक उपयोग मात्र हो । तर ’सीमा मिचिनु’ वा ’अतिक्रमण’ हुनु भनेको राष्ट्रिय स्तरमा राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएको प्रहार हो । हाम्रा प्रधानमन्त्रीले जनताको स्तरमा भएको सामान्य भोगचलनको विषयलाई देशले नै सीमा मिचेको जस्तो गरी राष्ट्रिय स्तरको विवादसँग जोडेर ठूलो गल्ती गर्नुभयो ।

प्रधानमन्त्रीको यो पछिल्लो अभिव्यक्तिले नेपालले उठाउँदै आएको लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा वार्तामा कस्तो प्रभाव पार्ला ? यसले नेपाललाई सकारात्मक मोड दिन्छ कि थप दबाब सिर्जना गर्छ ?

तपाईंले निकै गम्भीर र महत्त्वपूर्ण प्रश्न उठाउनुभयो । लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा नेपालले प्रमाणसहित ऐतिहासिक दाबी प्रस्तुत गर्दै आइरहेको छ । तर देशकै प्रधानमन्त्रीले ’नेपालले पनि भारतको भूमि मिचेको छ’ भनिदिएपछि त भारतलाई अन्तर्राष्ट्रिय र कूटनीतिक मञ्चमा ठूलो बल पुग्ने भयो । भारतले त अब ’हामीले मात्र होइन, नेपालले पनि हाम्रो भूमि मिचेको रहेछ’ भन्ने बहाना बनाउने बाटो पाउँछ ।

यसले नेपालको कूटनीतिक अडान र बार्गेनिङ पावरलाई निकै कमजोर बनाउँछ । समग्रमा भन्नुपर्दा, प्रधानमन्त्रीको यो अपरिपक्व बोलीले नेपालको भौगोलिक अखण्डतामा गम्भीर आँच पु¥याएको छ र भावी सीमा वार्तामा नेपालका लागि अत्यन्तै प्रतिकूल असर (नेगेटिभ इम्प्याक्ट) सिर्जना गर्ने निश्चित छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार  १३ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।