ग्लोबल मनि विकः चैत ६ देखि साताभर वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन हुने

0
Shares

विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक २०२३) को अवसरमा आगामी चैत ६ गतेदेखि सप्ताहव्यापी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ ।

आर्थिक सहयोग र विकास संगठनको समन्वयमा चैत ६ गतेदेखि १२ गते (मार्च २०–२६) सम्म एघारौं संकरणको कार्यक्रम आयोजना गरिन लागिएको हो । यो सप्ताह हरेक वर्ष अर्गनाइजेसन अफ इकनमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनमा मनाउने गरिन्छ । ग्लोबल मनि विक युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा विश्वभर मनाइने साप्ताहिक अभियान हो ।

सन् २०१२ देखि मनाउन सुरु गरिएको यो सप्ताह १७० वटा राष्ट्रका ४ करोड भन्दा बढी युवामाझ पुगिसेकेको छ । ग्लोबल मनी विकको स्थायी स्लोगान ‘सिक, बचत गर र कमाउ’ रहेको छ भने ग्लोवल मनी विक, २०२३ को स्लोगान ‘प्लान योर मनि, प्लान्ट योर फ्यूचर’ रहेको छ । यस स्लोगानले युवामा वित्तीय चेतना अभिवृद्धि मार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरणको विकासमा जोड दिएको छ ।

नेपालमा पनि यो सप्ताहव्यापी कार्यक्रम मनाउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तीय संस्थाहरुलाई आग्रह गरेको छ । सात वटै प्रदेशमा सात दिनसम्म मनाइने ‘ ग्लोबल मनि विक २०२३’ मनाउने क्रममा नेपाल राष्ट्र बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्थाहरु, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेसनल बैंकिङ इन्स्टिच्यूट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष आदि निकाय तथा संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो सप्ताह मनाउने क्रममा नेपालका स्कूल तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीहलाई समेटी वित्तीय चेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने, वित्तीय चेतना अभिवृद्धिसम्बन्धी रचनात्मक कृयाकलाप सञ्चालन गर्ने, वित्तीय चेतनामूलक प्रतिस्पर्धा तथा वित्तीय चेतनामूलक र्याली आयोजना गर्ने, सञ्चारमाध्यमबाट वित्तीय चेतनामूलक सामग्री एवं अन्तरवार्ता प्रसारण तथा प्रकाशन गर्ने, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाहरुको अवलोकन गर्ने प्रबन्ध मिलाउने, वित्तीय सेवा प्रदायक संस्थाका सामाजिक सञ्जालमा समेत वित्तीय चेतनामूलक सामग्री प्रकाशन र प्रसारण गर्ने, बैंक, वित्तीय तथा गैरबैंकिङ वित्तीय संस्थाहरुले युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने योजना रहेको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय शिक्षाले मूलतः हरेक व्यक्तिका नगद तथा नगद व्यवस्थापन सम्बन्धी जानकारी, बचत, ऋण, लगानी, विप्रेषणको प्राप्ती तथा व्यवस्थापन सम्बन्धी जानकारी, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाको जानकारी, बैंक तथा वित्तीय र गैरबैंकिङ वित्तीय संस्थाका बारेमा जानकारी एवं वित्तीय सेवा सम्बन्धमा देखा पर्नसक्ने विभिन्न प्रकारका जोखिम पहिचान गरी त्यसको निदान खोज्न सिकाउने गर्दछ ।

युवाहरूलाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रूपमा सबल र बनाउँदै विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने र आर्थिक सम्वृद्धिमा सघाउ पुर्याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।