सुपरमाई हाइड्रोको ५० लाख कित्ता सेयर सूचीकृत, बुधबारदेखि कारोबार खुल्दै

0
Shares

सुपरमाई हाइड्रोपावरको सेयर चैत ६ गते सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्से र हाइड्रोपावर कम्पनीबीच भएको सम्झौता अनुसार सोमबार कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले स्थानीय बासिन्दाहरुको लागि वितरण गरेको ५ लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष , कर्मचारी र सर्वसाधारणहरुको लागि वितरण गरिएको ५ लाख कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४० लाख कित्ता गरी कुल ५० लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा सूचीकृत गरिएको हो ।

सोमबार सूचीकृत सेयर सुचीकृत भएको दोस्रो कारोबार दिन अर्थात चैत ८ गते बुधबारदेखि दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ । मंगलबार घोडेजात्राको सार्वजनिक विदा रहेकाले नेप्से बन्द रहनेछ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि १३० रुपैयाँ ७६ पैसादेखि ३९२ रुपैयाँ २८ पैसासम्मको ओपनिङ रेन्ज प्रदान गरेको छ । सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुल्ने छ ।

नेप्सेले दोस्रो बजारमा कारोबार गर्नका लागि कम्पनीको धितोपत्रलाई ‘एसएमएच’ कारोबार सिम्बोल प्रदान गरेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा फागुन ५ गते शुक्रबार भएको सुपरमाईको आईपीओमा बाँडफाँडमा ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीले कर्मचारीहरुका लागि १० हजार, सामुहिक लगानी कोषका लागि २५ हजार, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ५० हजार कित्ता सेयर बाँडफाँड गरेको छ ।

सुपरमाई हाइड्रोपावरले ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना निमार्ण सम्पन्न गरी २०७५ कात्तिक ११ गतेदेखि व्यापारित विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको लागत प्रति मेगावाट १९ करोड ८ लाखका दरले १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ छ ।

आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन ५.७९ वर्ष र डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि ७.२७ वर्ष लाग्ने कम्पनीले जनाएको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र विसं २१०८ फागुन २९ गतेसम्म रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।