मायाखोलाको सेयर अधिकतम २६५ रुपैयाँसम्म खुल्ने, १ करोड कित्ता सूचीकृत

0
Shares

मायाखोला हाइड्रोपावरको सेयर पहिलाे काराेबारमा न्यूनतम ८८ रुपैयाँ ५३ पैसादेखि अधिकतम २६५ रुपैयाँसम्म खुल्ने भएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थको तीन गुणासम्मको कारोबार रेञ्ज पाउने आधारमा कम्पनीले पहिलो कारोबारका लागि सो रेञ्ज पाएकाे हाे । नेप्सेले ताेकेकाे कारोबार रेञ्जभित्र रहेर कम्पनीकाे काराेबार खुल्नेछ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ५३ पैसा छ । नेप्सेले सुचीकृत भई पहिलो पटक कारोबारमा आउने कम्पनीलाई नेटवर्थलाई न्यूनतम कारोबार रेञ्ज मानेर तीन गुणासम्मको अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

नेप्सेले दोस्रो बजारमा कारोबारका लागि कम्पनीको धितोपत्रलाई एमकेएचसी ‘MKHC’ कारोबार सिम्बोल प्रदान गरेको छ । मायाखोला हाइड्रोपावरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता सेयर सूचीकृत भएको छ । नेप्से र हाइड्रोपावर कम्पनीबीच चैत ६ गते सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकरण सम्झौता भएको हो ।

सोमबार सूचीकृत सेयर सुचीकृत भएको दोस्रो कारोबार दिन अर्थात चैत ८ गते बुधबारदेखि दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ । मंगलबार घोडेजात्राको सार्वजनिक विदा रहेकाले नेप्से बन्द रहनेछ ।

कम्पनीले स्थानीय बासिन्दाहरुको लागि वितरण गरेको १० लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणहरुको लागि वितरण गरिएको २४ लाख कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६६ लाख कित्ता गरी कुल १ करोड कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीले सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएर माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणबाट १९ लाख ९२ हजार कित्ताका लागि आवेदन माग गरेको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा माघ २६ गते बिहीबार भएको आईपीओमा बाँडफाँडमा १ लाख ९९ हजार २०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीले कर्मचारीहरुका लागि ४८ हजार, सामुहिक लगानी कोषका लागि १ लाख २० हजार, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरेको छ ।

हाईड्रोपावरले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्न सिटिजन्स् क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजारलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४.९० मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेका कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी माघ २६ गते बाँडफाँड गरेको हो । ३ अर्ब रूपैयाँ कुल निर्माण लागत रहेको आयोजनाबाट फागुनको पहिलो हप्तादेखि व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य छ । प्रतिमेगावाट लागत २० करोड १३ लाख रूपैयाँ रहेको आयोजनाको हाल ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।