गत बर्षको तुलनामा मंहगी ३२ प्रतिशतले बढ्यो, तलब तथा ज्यालामा उच्च सुधार

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मंहगी सरकारले अनुमान गरेको भन्दा माथि पुगेको छ । सरकारले बजेट मार्फत चालु आर्थिक वर्षमा ६ प्रतिशतको महंगी रहने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षको दास्रो महिनामा ६.१२ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेकोमा असोजस मसान्तसम्ममा आईपुग्दा वढेर ६.२१ प्रतिशत पुगेको छ ।

२०७६ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ । यो उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वढेको हो । गत आर्थिक वर्षको असोजसम्ममा मुद्रास्फीति ४.६८ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ ।

चालु आवको पहिलो त्रैमासमा काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ असोजमा यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

असोजसम्मा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा यस्तो (अक्टोबर महिनाको) मुद्रास्फीति ४.६२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.६८ प्रतिशत र ३.३८ प्रतिशत रहेको थियो ।

२०७६ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ ।

वृहत आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.९५ प्रतिशत, १.६१ प्रतिशत र २.४६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । निर्माण सामाग्रीको थोक मूल्य भने २.४१ प्रतिशतले घटेको छ ।

२०७६ असोजमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १२.०७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.७३ प्रतिशतले बढेको थियो । असोजमा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ११.६७ प्रतिशतले बढेको छ ।