ओरालो लागेको बजारमा लगानीकर्ताको नजर एनआईसी एशिया बैंकको सेयरमा


क्रमिक रुपमा ओरालो लागिरहेको बजारमा बिहीबार एनआईसी एशिया बैंकको सेयर अधिक कारोबार भएको छ ।

बिहीबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से १९०६ अंकसम्म झरेर अन्तिम समयमा १९१५.१४ अंकमा अडिएको हो । बुधबारको तुलनामा बिहीबार बजार परिसुचक नेप्से १८.१५ अंकले घटेको हो ।

राजनितिक घटनाक्रमका बिच केही दिन सामान्य वृद्धि देखिए पनि बुधबारदेखि ओरालो लाग्न थालेको बजारमा कारोबार रकम १ अर्ब माथि रहेको छ । बिहीबार १ अर्ब ४१ करोड ३१ लाखको सेयर किनेबेच भएको छ । बुधबार एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

बिहीबार २५९ कम्पनीका ४३ लाख ४० हजार २७० कित्ता सेयरहरु २९ हजार ६८५ पटक किनबेच भएका छन् ।

समुहगत आधारमा जीवन बीमा कम्पनीहरुको सूचकमा सबैभन्दा धेरै अर्थात ९१.८८ अंकको गिरावट आएको बजारमा व्यापार समुह ६७.०९, लघुवित्त ५९.१६, होटल ४२.४९ तथा जलविद्युत समुह ३६.५९ अंकले घटेका छन् । सबै उपसमुहमा गिरावट आएको छ ।

बजार आरोलो लाग्दा भर्खरै सूचीकरण भएर कारोबारमा आएका मायाखोला र एशियन हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढेको बजारमा सिद्धार्थ बैंकको सेयर मूल्य ८.३४ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल, लिबर्टी इनर्जी लगायत झण्डै २ दर्जन कम्पनीको सेयर मूल्य सामान्य बढेको छ ।

बिहीबार लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा धेरै गिरावट आएको छ । युनिक नेपाल लघुवित्तको सेयर मूल्य साढे ७ प्रतिशतले घटेको बजारमा श्रृजनशील लघुवित्त, खप्तड लघुवित्तको सेयर मूल्य ६ प्रतिशतले घटेको छ । साधारण सेयर निष्काशन पछि कारोबारमा आएको केही दिनपछि शुभम पावरको सेयर मूल्य पनि झण्डै ६ प्रतिशतले घटेको छ ।

बजार ओरालो लाग्दै गर्दा लगानीकर्ताहरुले एनआईसी एशिया बैंकको सेयरमा आकर्षण देखाएका छन् । बजारसँगै बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घट्दा कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर कित्ताका आधारमा एनआईसी एशिया पहिलो बनेको छ ।

कारोबार रकमका आधारमा पहिलो स्थानमा रहेको एनआईसी एशियाको २१ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने दोस्रो स्थानमा रहेको सिद्धार्थ बैंकको ८ करोड ३५ लाख रुपैयाँको किनबेच भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।