यस्ता छन् वैदेशिक रोजगारीमा रहेकाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने तरिका र सुविधाहरु


सरकारले बैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा समेटेको छ ।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरण गर्ने कार्यकोे उद्घाटन गरेका हुन् ।

सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेकाहरुले अनलाइनमार्फत सहभागी हुन सक्ने छन् । योजनामा सहभागी हुन चाहने श्रमिकले आफू कार्यरत वा स्वरोजगार गरी बसेको मुलुकबाटै कागजात तथा विवरणको विद्युतीय प्रति संलग्न गरी अनलाइन प्रणालीमार्फत सूचीकरणको लागि निवेदन दिन सक्ने सामाजिक सुरक्षा कोषका सुचना अधिकारी रोशन कोजुले बताए ।

वैदेशिक रोजगारी रहेका नेपालीलाई समस्या परेको बेला सहयोग गर्नु पर्ने राज्यको दायित्व भएकोेले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याइएको कोजुको भनाइ छ । उनले भने, ‘नेपालको आर्थिक अर्थतन्त्रलाई मजबुत बनाउन, आपत विपत परेको समयमा राज्यले अभिभावकिय जिम्मेवारी पूरा गर्नको निम्ती बैदेशिक रोजगारमा रहेकाहरुलाई सामाजिक सुरक्षा योजना ल्याएको हो ।’

भविष्यमा दुर्घटनाबाट अंगभंग भइहाल्यो भने परिवार र आफ्नो आर्थिक गतिविधि सन्चालन गर्न पनि सामाजिक सुरक्षा कोष आवश्यक रहेको उनको भनाइ छ ।

कोषमा आवद्ध हुने तरिका

कोषको वेभसाइट www.ssf.gov.np मा SOSYS Online ष्लिभ मा विवरण भरेर लगइन गरेपछि सामाजिक सुरक्षा कोषबाट युजर आइडि र पासवर्ड र सम्मिसन नम्बर प्राप्त गर्न सकिन्छ ।

त्यस पश्चात रजिष्टर्ड गरिएको इमेलमा युजर नेम, पासपोर्ड, र एसएसआएडी प्रमाण पत्र सहित इमेल आउँछ । विवरण भर्दा नेपाली नागरिकता वा राहदानी र भिसाको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । तर, नेपाली नागरिकलाई भिसा आवश्यक नपर्ने मुलुकमा स्वरोजगार रहेको भए नेपाली नागरिकता वा राहदानीको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने छ । यस्तै रोजगारदाता कम्पनी, ठेगाना र नेपालमा सम्पर्क गर्ने व्यक्तिको नाम थर, ठेगाना, नाता, सम्बन्ध र सम्पर्कको विवरण खुलाउनु पर्नेछ । यस्तै अनलाइन फारम भर्दा बैंकको नाम, खाता नम्बर,खाताको प्रकार, शाखा पनि उल्लेख गर्नुपर्ने छ ।

पैसा जम्मा गर्ने तरिका

विदेशमा सक्रिय रहेका र नेपालमा पनि शाखा रहेका रेमिट कम्पनीहरुको माध्यमबाट पनि योगदानमा आधारित रकम जम्मा गर्न सकिन्छ । सूचना अधिकारी कोजूका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकले कनेक्ट आईपीएस, खल्ती एप, इसेवा, फोन पे लगायतको माध्यमबाट रकम जम्मा गर्न सक्ने छन् ।

त्यो भौचर नम्बर र सामाजिक सुरक्षा नम्बर खल्ती, फोन पे, कनेक्ट आईपीएस लगायतका भुक्तानीका माध्यमहरुमा उल्लेख गरेपछि हरेक महिना श्रमिकले तिनुपर्ने रकम देखाउँछ । त्यसैको आधारमा अनलाइनमार्फत योगदानमा आधारित रकम जम्मा गर्न सकिन्छ ।

जम्मा गर्नु पर्ने रकम

सामाजिक सुरक्षा योजनामा सहभागि हुन वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजार २ रुपैयाँदेखि अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा जम्मा गर्न सकिन्छ ।
तर समयमा योगदान गरेन भने सुरक्षा योजना बकमेजिमको सुविधा प्राप्त हुँदैन । साथै तोकिएको समयभित्र योगदान रकम जम्मा नगरे कोषमा जम्मा गर्नुपर्ने रकममा १० प्रतिशत व्याज समेत थप गर्नु पर्ने छ ।

दुर्घटना अन्तर्गतको सुविधाहरु

दुर्घटनामा परेको योगदानकर्ताले अस्पताल भर्ना भई उपचार गराउँदाको अवस्थाको एक लाख रुपैयाँसम्मको उपचार खर्चको भुक्तानी पाउने छ । दुर्घटनाको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निज काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा पाउने छन् ।

दुर्घटनाका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा न्यूनतम आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधाबापत मासिक रुपमा अशक्तता पेन्सनको भुक्तानी हुनेछ ।

दुर्घटनाको कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले न्यूनतम आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकम मासिक रुपमा निज जीवित रहुञ्जेल अशक्तता पेन्सनको भुक्तानी पाउने छ ।
जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीलाई न्यून आधारभूत पारिश्रमिकको चालिस प्रतिशतका दरले जीवनभर निवृत्तभरण पाउनेछन् ।

मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पूरा नभएको सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिकवृत्ति बापत न्यूनतम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा शैक्षिकवृती पाउने छन् । यस्तै अन्तिम संस्कारको लागि पच्चीस हजार रुपैयाँ दिइन्छ ।
अवकाश वचतका योजना अन्तर्गतका सुविधाहरु

अवकाश वचत योजनामा जम्मा भएको रकममा कोषले प्रतिफल प्रदान गर्दछ भने कोषले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी व्यवसाय प्रवद्र्धन कर्जा समेत दिने तयारी गरिरहेको छ ।

निवृत्तभरण योजना अन्तर्गतका पाउने सुविधाहरु

योगदानकर्ताको साठी वर्ष उमेर पूरा भएपछि निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई एकसय साठीले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउनेछ ।

कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने योगदान रकम एकमुष्ठ रुपमा प्रदान गरिनेछ। योगदानकर्ताले निवृत्तभरण प्राप्त गर्न शुरु गरे पछि मृतकको पति वा पत्नीलाई योगदानकर्ताले पाइरहेको निवृत्तिभरणको पचास प्रतिशतले हुन आउने रकम आजीवन निवृत्तभरण प्रदान गरिनेछ ।

कोषबाट उपलब्ध हुने सेवाहरु अनलाइनमा आधारित भएकोले कोषको बारेमा जानकारी लिन कोषको कल सेन्टर १११६ मा सम्पर्क गर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।