सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा वीरेन्द्र बैदवार नियुक्त

0
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा वीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेका वैदवारलाई फागुन १७ गतेदेखि लागू हुने गरी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको हो ।

कम्पनीको सञ्चालक समितिको चैत ९ गते सम्पन्न बैठकले बैदवारलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एक आपसमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट गत फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।

नेपाल बीमा प्राधिकरणले मर्जरको सुविधा दिने क्रममा मर्जरपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल दोहोरिएको नमानिने व्यवस्था गरेको छ । साविक सिद्धार्थले वैदवारलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

साथै कम्पनी सञ्चालक समितिको बैठकले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको छ । बीमक गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम केडिया र श्रेष्ठलाई सल्लाहकार नियुक्त गरिएको जनाइएको छ ।

यस्तै मर्जरका क्रममा सञ्चालकको व्यवस्थापन गर्न गाह्रो भएका खण्डमा नेपाल बीमा प्राधिकरणले सल्लाहकार सञ्चालक राख्न पाउने मर्जरको सुविधा पनि प्रदान गरेको छ । सोही व्यवस्था बमोजिम साविक प्रिमियर र सिद्धार्थका एक/एक जना सञ्चालक नियुक्त भएका हुन् । नयाँ सल्लाहकारहरुले अन्य सञ्चालक सरह सेवा सुविधा पाउनेछन् ।

एकीकृत कम्पनीको अध्यक्ष सुरेशलाल श्रेष्ठ चयन भइसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।