बैंकहरुले ब्याजदर घटाए पनि अल्पकालिन ट्रेजरीको डिस्काउन्ट रेट बढ्यो

0
Shares

बैंक वित्तीय संस्थाले ब्याजदर घटाउदा पनि सरकारले आन्तरिक ऋण लिन जारी गर्ने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट भने बढेको छ । बैंकहरुले बैंकिङ प्रणालीको स्रोतको सहजताका आधारमा भन्दा पनि चौतर्फि दबाबका कारण ब्याजदर घटाएपछि ट्रेजरीको डिस्काउन्ट रेट बढेको हो ।

सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गर्ने ट्रेजरीमा लगानी गर्ने बैंक वित्तीय संस्था नै हुन । उनीहरुले निक्षेपकर्तालाई दिएको र ऋणीबाट लिने ब्याजदर घटाएको भएपनि सरकारी ऋणपत्रमा लगानी गर्दा उच्च ब्याजदर माग गरेका हुन । बैंकिङ प्रणालीको सीमित स्रोत र कर्जाको माग पनि विस्तार हुन नसकेपछि बैंकहरुले ट्रेजरीमा लगानी गर्दा समेत उच्च प्रतिफल खोजेका हुन ।

बैंकहरुले चैत महिनाका लागि निक्षेपमा ०.४ र कर्जामा एक प्रतिशत प्रिमियम ब्याजदर घटाउने निर्णय गरेर लागु गरीसकेको अवस्था छ । तर, कर्जा निक्षेपको ब्याजदर घटाएर अल्पकालिन ब्याजदर बढाउन खोज्नु उपयुक्त नभएको एक बैंकरको भनाइ छ । स्रोत अभाव तथा उच्च ब्याजदरका कारण कर्जाको विस्तार हुन नसकेको र पछिल्लो समयमा दबाबका कारण ब्याजदर घटाउन पर्दा बैंकहरुको आम्दानीमा असर गरेको छ । त्यसकारण गर्दा पनि बैंकहरुले ट्रेजरीको डिस्काउन्ट रेट उच्च माग गर्ने र त्यसको असर ब्याजदरमा समेत देखाउन खोजेको अनुमान ती बैंकरको रहेको छ ।

सरकारले सोमबार २२ अर्ब १० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स निष्कासन गरेको थियो । सो मध्ये ५ अर्ब रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी नयाँ हो भने बाँकी सबै पुरानो नविकरण गरेको हो । तर, सोमबार बैंक वित्तीय संस्थाले उच्च डिस्काउन्ट रेट माग गरेपछि २८ दिने र ९१ दिने ट्रेजरी राष्ट्र बैंकले आफैले खरिद गरी गरेर डिस्काउन्ट रेटको वृद्धिदरलाई नियन्त्रण गरेको छ । केन्द्रीय बैंकले २८ दिने २ अर्ब ७६ करोड र ९१ दिने एक अर्ब २६ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स खरिद गरेको हो ।

सोमबार निष्कासन भएका २८, ९१, १८२ र ३६४ दिने सबै ट्रेजरीको डिस्काउन्ट रेट बढेको छ । सरकारले निष्कासन गरेको ५ अर्ब रुपैयाँ बरावरको २८ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिसकाउन्ट रेट ९.४९१२ प्रतिशत छ भने न्यूनतम ८.५१८५ प्रतिशत रहेको छ । यसको औसत डिस्काउन्ट रेट ९.०२७१ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट यसभन्दा अघि चैत ८ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.६८३७ प्रतिशत थियो ।

त्यसैगरी ५ अर्ब बरावरको नयाँ र ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ बरावरको पुरानो ट्रेजरी नविकरण भएको ९१ दिनेका लागि बैंक व्त्तिीय संस्थाले अधिकतम १०.४४०० प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन भने न्यूनतम ८.७००८ प्रतिशत रहेको छ । यसको औसत डिसकाउन्ट रेट ९.९२३४ प्रतिशत कायम भएको छ । यसभन्दा अघि चैत ८ गते निष्कासन भएको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.४१.९५ प्रतिशत थियो ।

सोमबार ६० करोड रुपैयाँ बरावरको १८२ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिस्काउन्ट रेट ९.५७०० प्रतिशत छ भने न्यूनतम ८.७००८ प्रतिशत छ । यसको औसत डिसकाउन्ट रेट ९.४२३९ प्रतिशत कायम भएको छ । यसभन्दा अघि चैत ८ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.४१४६ प्रतिशत थियो ।

त्यसैगरी सोमबार निष्कासन भएको ५ अर्ब रुपैयाँ बरावरको ३६४ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिस्काउन्ट रेट ९.८९०० प्रतिशत छ भने न्यूनतम ९.११०९ प्रतिशत छ । यसको औसत डिसकाउन्ट रेट ९.७४७८ प्रतिशत कायम भएको छ । यसभन्दा अघि चैत ८ गते निष्कासन भएको ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.५९९९ प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।