ट्रेजरीको सोझै खरिदमा बैंकहरुले नीतिगत दरभन्दा थोरै रेट दिएपछि राष्ट्र बैंकले किनेन

0
Shares

नेपाल राष्ट्र बैंकले ट्रेजरीको सोझै खरिद मार्फत बैंकिङ प्रणालीमा तरलता पठाउन खोज्दा नीतिगत दरको अडानले २५ प्रतिशत मात्र खरिद गरेको छ । केन्द्रीय बैंक र बैंकहरुले नीतिगतदर खिचातानी गर्दा राष्ट्र बैंकले आह्वान गरे अनुसारको खरिद गर्न नसकेको हो ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सहज भएपछि प्रतिफलमा मोलमोलाइ गरेका हुन । बैंक वित्तीय संस्थालाई तत्काल नगदको आवश्यकता नभएको हुनाले आफुले पाउने डिस्काउन्ट रेटमा घटेर केन्द्रीय बैंकलाई टे«जरी बिक्री गर्न नखोजेका हुन ।

बिहीबार राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बरावरको टे«जरी सोझै खरिद गर्न खोजेको थियो । तर, त्यसमा पनि बैंक वित्तीय संस्थाले १३ अर्ब ५३ करोड रुपैयाँ बरावरको मात्र बिक्री आवेदन दिएका थिए । बैंक वित्तीय संस्थाले दिएको आवेदनमा पनि डिस्काउन्ट रेट १० प्रतिशतभन्दा धेरै माग भएपछि केन्द्रीय बैंकले खरिद नगरेको हो ।

राष्ट्र बैंकले बिहीबार ट्रेजरी बिल्सको सोझै खरिदका लागि आह्वान गरेको बोलमा बैंक तथा वित्तीय संस्थाको सहभागिता आएको कमीले पनि तरलता अवस्था सहज भएको स्पष्ट हुन्छ । बैंकहरुमा कर्जाको माग नभएकाले पनि बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज रहेको बैंकहरुले नै बताउँदै आएका छन । तरलता समस्या जटिल भएको अवस्थामा भने बैंक वित्तीय संस्थाले आफुले पाएको भन्दा धेरै डिस्काउन्ट रेट राष्ट्र बैंकलाई दिएर समेत बिक्री गर्छन ।

पछिल्लो समयमा बैंकहरुले ट्रेजरीको सोझै बिक्री गर्दा डिस्काउन्ट रेटमा समेत केही नाफा खोजेको देखिन्छ । राष्ट्र बैंकले भने नीतिगत दर सात प्रतिशत भन्दा तल डिस्काउन्ट रेट अफर गर्नेको ट्रजरी खरिद नगर्ने अडान लिएको छ ।

केन्द्रीय बैंकको उक्त अडानका कारण बिहीबारको ट्रेजरी बिल्सको न्यूनतम डिस्काउन्ट रेट पनि ७.००८७ प्रतिशत रहेको छ । यो डिस्काउन्ट रेट गत मसिर ९ गतेको सोझै खरिदको औसत डिस्काउन्ट रेट भन्दा थोरै हो । केन्द्रीय बैंकले भने ब्याजदर करिडोरको नीतिगत दरलाई स्थापित गर्न ७ प्रतिशत भन्दा तलको डिस्काउन्ट रेटमा खरिद नगरेको हो ।

केन्द्रीय बैंकले नीतिगत दर भन्दा माथिको रेटमा बिक्री गर्न चाहेको मात्र खरिद गरेको हो । बिहीबार आएको आवेदन मध्ये केन्द्रीय बैंकले सात प्रतिशत भन्दा तल डिस्काउन्ट रेट माग गर्ने ट्रेजरी खरिद नगरेको हो ।

बिहीबार राष्ट्रले सोझै ट्रेजरी खरिदको आह्वान गर्दा बैंकहरुले धेरैमा १०.०१२९ प्रतिशत डिस्काउन्ट रेटमा बिक्री गर्न खोजका छन् भने न्यूनतम ७.००८७ प्रतिशत बोल गरेका छन् । यसको औसत ब्याजदर ७.८९४३ प्रतिशत कायम भएको छ । यो ब्याजदर यसअघिको मंसिर ९ गतेको सोझै खरिदको औसत ब्याजदर ७.५७२१ प्रतिशतको तुलनामा धेरै हो ।

केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले २०८० असार मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल खरिद गरेको हो । सोझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोल बमोजिमको वार्षिक प्रतिफल दर यिल्ड रेट गणना गरी सबैभन्दा बढी प्रतिफल दर बोल गर्ने बैंक/वित्तीय संस्थालाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकम क्रमश बाँडफाँड गरेको केन्द्रीय बैंकले जनाएको छ । तर समान वार्षिक प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्काशित रकम भन्दा बढी भएको सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँड भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।