एशिया प्यासिफिक क्षेत्रको आर्थिक अवस्था अन्य क्षेत्रको तुलनामा सकरात्मक

0
Shares

एशियन डेभलपमेन्ट बैंक (एडिबी)ले सन् २०२३ मा एशिया तथा प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि दर ४.८ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

एशियन डेभलपमेन्ट आउटलुक नामक प्रतिवेदनमा एडिबीले एशिया र प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि र मुद्रास्फीति दर अनुमान गरेको हो ।

सन् २०२३ मा विकासशील एशिया क्षेत्रको आर्थिक वृद्धि दर ४.८ प्रतिशत र मुद्रास्फीति दर ४.२ प्रतिशत रहने छ । चीन बाहिरका एशियाली राष्ट्रहरुको आर्थिक वृद्धि दर सन् २०२३ मा ४.६ प्रतिशत र मुद्रास्फीति दर ६.२ प्रतिशत रहने एडिबीको प्रक्षेपण छ ।

पछिल्लो समयमा चीनले शून्य कोभिड नीति खुकुलो बनाएको छ । जसकारण चीनमा औद्योगिक तथा आर्थिक गतिविधिले तीव्र गति लिएको छ । चिनियाँ अर्थतन्त्रमा देखिएको सुधारका कारण विश्व अर्थतन्त्र नै चलायमान हुन पुगेको छ । चीनले बोर्डर खुल्ला गरेपछि वस्तुहरुको आपूर्ति समेत बढेको छ । सन् २०२३मा चीनको आर्थिक वृद्धि दर ५ प्रतिशत रहने अनुमान एडिबीले गरेको छ ।

सन् २०२२ मा आकाशिएको मुद्रास्फीति नियन्त्रणका लागि अधिकांश एशियाली राष्ट्रहरुले ब्याज दर वृद्धि गरेका थिए । पछिल्लो समयमा खाद्यान्न तथा इन्धनको मूल्यमा गिरावट आएता पनि उपभोक्ता मूल्य सूचांक भने नियन्त्रणमा आउन सकेको छैन ।

देशहरुको आर्थिक अवस्थामा सकरात्मक सुधार देखिँदा अधिकांश देशका केन्द्रीय बैंकहरुले संकुचित मौद्रिक नीतिलाई त्यागी पुनः विस्ताकारी मौद्रिक नीति अवलम्बन गरिहेका छन् । कोभिडका कारण बन्द भएका बोर्डर खुल्ला हुँदा एशियाली मुलुक विशेषतः दक्षिण एशियाली मुलुकहरुमा पर्यटक आगमन बढेको छ ।

पर्यटकको आगमनमा भएको वृद्धि, चिनियाँ अर्थतन्त्रमा देखिएको हरियालीका कारण एशिया प्यासिफिक क्षेत्रको आर्थिक अवस्था अन्य क्षेत्रको तुलनामा सकरात्मक देखिएको छ ।

सन् २०२३ मा दक्षिण एशियाली राष्ट्रहरुमा सबैभन्दा धेरै आर्थिक वृद्धि दर माल्दिभ्सको रहेको छ । एडिबीको प्रक्षेपण अनुसार माल्दिभ्सको आर्थिक वृद्धि दर ७.१ प्रतिशत रहने छ । यस्तै पाकिस्तानको आर्थिक वृद्धि दर ०.६ प्रतिशत, भुटानको आर्थिक वृद्धि दर ४.६ प्रतिशत, बाङ्लादेशको ५.३ प्रतिशत रहने अनुमान छ । सन् २०२३मा भारतको आर्थिक वृद्धि दर ६.४ प्रतिशत र नेपालको आर्थिक वृद्धि दर ४.१ प्रतिशत रहने प्रक्षेपण एडिबीको रहेको छ ।

यस्तै सेन्ट्रल एशियाको आर्थिक वृद्धि दर ४.४ प्रतिशत, पूवी एशियाको ४.६ प्रतिशत, दक्षिण एशियाको ५.५ प्रतिशत र दक्षिणपूर्वी एशियाको ४.७ प्रतिशत र पयासिफिक क्षेत्रको ३.३ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।