प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारण सभा: आइजीआईसँग मर्जर गर्ने प्रस्ताव पारित

0
Shares

प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनी लिमिटेडको विशेष साधारण चैत्र २२ गते बुधबार होटल इच्छा, सिमरा, बारामा सम्पन्न भएको छ । विशेष साधारण सभामा सम्पूर्ण सेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा सभालाई जानकारी गराए ।

सभामा अध्यक्ष श्री अग्रवालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी गराए ।

त्यसैगरी अध्यक्ष अग्रवालले दुवै कम्पनीको गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डिडिए रिर्पोट समेतको आधारमा सेयर अनुपात क्रमश १:१ कायम गरी दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६३९ हुनेछ । दुबै कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको जानकारी गराए ।

नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना विशाल ग्रुप र आइएमई ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे । सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पुँजी ३ अरब २ करोड, शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसैगरी व्यवसाय करिब ४ अरब हुने जानकारी समेत सभालाई गराए । त्यसैगरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पूँजीेको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने व्यहोरा समेत जानकारी गराए ।

दुई संस्था गाभिएपछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुनेछ । यसले संस्थाको वित्तीय जग बलियो हुने, सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पूँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुने सो अवसरमा जानकारी दिइयो ।

अन्त्यमा प्रचलित कानून तथा नेपाल बीमा प्राधिकरण एवं अन्य नियमन निकायद्वारा जारी निर्देशनहरुको पूर्ण पालना गरी संस्थागत सुशासनको मूल्य र मान्यतालाई मनन गरी गुणस्तरीय सेवा प्रदान गरी नेपालमा रहेका निर्जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने व्यहोरा समेत सभालाई जानकारी गराए ।

त्यसैगरी अध्यक्ष अग्रवालले यस विशेष अवसरमा दुबै कम्पनीका मर्जर कमिटीका संयोजक, सेयरधनी, नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियामकारी, बैंक तथा वित्तीय संस्था, बीमा तथा पुनर्बीमा कम्पनी, दुवै कम्पनीका सञ्चालक समितिका पधादिकारीहरु लगायत कर्मचारीहरुलाई समेत धन्यवाद ज्ञापन गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।