चौध मन्त्रालयको असहयोगपछि सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपर्यो : बालेन


काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले १४ मन्त्रालयको असहयोगपछि सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको बताएका छन् ।

मेयर साहले सामाजिक संञ्जालमा पोष्ट गर्दै आफुले १४ मन्त्रालयसँग विभिन्न पहल गरेको तर मन्त्रालयले सुनेको नसुनै गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनु परेको बताएका हुन् ।

उनले भने,‘मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ?’

उनले सरकारले जनप्रतिनिधीको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’

उनले सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै फोहोर नउठाइएको बताए । उनले केही दिनअघि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको बताए। ‘त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन। बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो,’ उनले भने, ‘संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुश हुन्न। पटक–पटकको कोसिसपछि ९ महिना पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुश्किल परेको अवस्था छ।’ उनले यो दबाव आवश्यक भएको बताए ।

यस्तै उनले स्थानीय समस्या स्थानीय सरकारले नै समाधान गर्न सक्नुपर्ने बनाउनुपर्नेमा पनि जोड दिएका छन्। 

‘स्थानीय समस्या स्थानीय तहमा नै समाधान हुन सकून, संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस्,देश विकेन्द्रीकरणको उच्चतम लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ, तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौं आइरहनुपर्ने अवस्था छ, त्यस्तो नहोस्,’ मेयर शाहले भने। 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।