निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, कर्जाको कहिले ?

0
Shares

वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् ।

बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउने निर्णय गरेको बैंकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ्ले जानकारी दिए । ब्याजदर घटाउने निर्णयसँगै वैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ ।

उनका अनुसार यसअघि कायम निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउने निर्णय भएको हाे । ब्याज घटेसँगै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यसअघि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका थिए ।

त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत कायम हुने भएको छ । बैठकले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झार्ने निर्णय गरेको छ । यसअघि निक्षेप साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिइरहेका थिए ।

कर्जाको ब्याजदर आधारदर निकालेपछि थाहा हुने बैंकरहरूले बताएका छन् । निक्षेपको ब्याजदर घटेसँगै यसले आधारदर घटाउने र यसको प्रभावले पुरानो ऋणको ब्याजदर समेत घट्दै जाने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।