सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै, पछिल्लो २५ दिनमा २३ हजार थपिए


सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्या बढिरहेको छ ।

कोषका अनुसार गत २५ दिनको अवधिमा २३ हजार योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

२०७९ चैत ८ गतेसम्म सामाजिक सुरक्षा कोषमा चार लाख ३० हजार श्रमिक सूचीकृत भएका थिए भने २०८० बैशाख २ गतेसम्म ४ लाख ५३ हजार २४९ जना सूचिकृत भएका छन् । २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा कोषको शुभारम्भ भएको थियो ।

कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख ६० हजार १५१ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३९ हजार २८५, मधेस प्रदेशबाट २१ हजार ३७२, गण्डकी प्रदेशबाट १५ हजार ४२४, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन् ।

कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ । कोषमा १७ हजार आठ सय १० रोजगारदाता आबद्ध भएका छन् । कोेषका अनुसार एक महिनाको अवधिमा मात्रै १ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको छ । चैत ८ गतेसम्म कोषमा जम्मा हुनेको संख्या ३० अर्ब ११ करोड रुपैयाँ संकलन भएको थियो । ४ वर्षको अवधिमा ३२ अर्ब ९ करोड रुपैयाँ संकलन भएको छ भने कोषले विभिन्न योजना बापत योगदानकर्तालाई ४ अर्ब ८ करोड दाबी भुक्तानी गरेको छ।

कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ ।

कोषमा कसरी आबद्ध हुने

समाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागी कोषको वेभसाइट www.ssf.gov.np मा SOSYS Online line मा विवरण भरेर लगइन गर्नुपर्ने हुन्छ । त्यसपश्चात सामाजिक सुरक्षा कोषबाट युजर आइडि र पासवर्ड र सम्मिसन नम्बर प्राप्त गर्न सकिन्छ ।

वैदेशिक रनेजगारीमा रहेका नेपाली नागपरिकले विवरण भर्दा नेपाली नागरिकता वा राहदानी र भिसाको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । तर, नेपाली नागरिकलाई भिसा आवश्यक नपर्ने मुलुकमा स्वरोजगार रहेको भए नेपाली नागरिकता वा राहदानीको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने छ । यस्तै रोजगारदाता कम्पनी, ठेगाना र नेपालमा सम्पर्क गर्ने व्यक्तिको नाम थर, ठेगाना, नाता, सम्बन्ध र सम्पर्कको विवरण खुलाउनु पर्नेछ । यस्तै अनलाइन फारम भर्दा बैंकको नाम, खाता नम्बर,खाताको प्रकार, शाखा पनि उल्लेख गर्नुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ वैशाख २०८०, आइतबार  १३ : ४६ बजे