बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरुको भौतिक अवस्था कमजोर

0
Shares

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरमा रहेका बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको आज स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको भौतिक अवस्था कमजोर रहेको, कतिपय कार्यालयमा एक दुईजना मात्र कर्मचारीहरु रहेको, बीमितले प्रतीक्षा गर्ने ठाउँको व्यवस्था नगरिएकोे, कार्यालयहरुलाई केन्द्रबाट अधिकार प्रत्यायोजन नभएको लगायतका समस्याहरु देखिएको निर्देशक लालले जानकारी दिए ।

आजै नेपाल बीमा प्राधिकरणको आयोजनामा जनकपुरमा बीमकका प्रदेश तथा शाखा कार्यालयहरुका प्रमुख एवम् प्रतिनिधिहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा ऐन, २०७९ मा भएका व्यवस्था, नेपाल बीमा प्राधिकरण र प्राधिकरणका प्रदेश कार्यालयका कार्य, बीमकका शाखा कार्यालयका मापदण्ड, जोखिमाङ्कनको प्रभावकारिता लगायत बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिए ।

कार्यक्रममा बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले केन्द्रीय कार्यालयले लक्ष्य मात्र दिएको तर अधिकार भने प्रत्यायोजन नगरेको, कार्यालयमा आवश्यक जनशक्तिको व्यवस्था नभएको, सरेण्डरको समस्या रहेको, बीमा अभिकर्ताबाट उचित किसिमले जोखिमाङ्कन नहुँदा दाबी भुक्तानीमा समस्या देखिएको, केन्द्रबाट जथाभावी सरुवा गर्ने र अनावश्यक दबाद दिने गरेको लगायतका गुनासाहरु राखेका थिए ।

कार्यक्रममा बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), जनकपुरका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो