बैंक वित्तीय संस्थाको ब्याज आम्दानीको आधा रकम मुद्दती निक्षेपमा खर्च

0
Shares

बैंक तथा वित्तीय संस्थाको कुल ब्याज आम्दानीको करिब आधा रकम मुद्दती निक्षेपका लागि मात्र खर्च भएको छ । कर्जा लगानीमा आएको सुस्तता तथा निक्षेपको ब्याजदरमा आएको वृद्धिका कारण मुद्दती निक्षेपको लागि धेरै खर्च गर्नु परेको हो ।

चालु आर्थिक वर्षको फागुन सम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेपमा मुद्दति निक्षेपको ५७.८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा स्रोत अभाव बढ्न थालेपछि चालु आर्थिक वर्षको सुरुवात देखि ब्याजदर बढ्न थाल्यो । बैंकहरुले नै मुद्दती निक्षेपमा करिब १३ प्रतिशतसम्म ब्याजदर दिए ।

त्यसको असर बचतमा रहेको पैसा मुद्दती निक्षेपमा सिफ्ट भयो । त्यसले गर्दा पनि मुद्दती निक्षेपको अंश बढेको हो । यसकारण पनि बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपका लागि गर्ने खर्च एक महिनामा करिब २५ अर्बले बढेको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा बैंक वित्तीय संस्थाको कुल ब्याज आम्दानी ४ खर्ब १६ अर्ब १४ करोड १० लाख रुपैयाँ रहेको छ। सो अवधिमा मुद्दती निक्षेपका लागि मात्र १ खर्ब ९५ अर्ब ४८ करोड ६० लाख रुपैयाँ ब्याज खर्च भएको छ । यो खर्च कुुल ब्याज आम्दानीको ४६.९७ प्रतिशत हो । चालु आवमा माघ महिनामा भने बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७० अर्ब ६१ करोड ६० लाख रुपैयाँ मुद्दती निक्षेपका लागि ब्याज खर्च गरेका थिए । वित्तीय संस्थाको कुल ब्याज आम्दानीको ४८.९ प्रतिशत रकम ब्याजकै लागि खर्च हुन्छ । फागुन महिनामा वित्तीय संस्थाहरुको कुल ब्याज खर्च २ खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको फागनुसम्ममा बैंक वित्तीय संस्थाले २ खर्ब ६१ अर्ब ३३ करोड ९० लाख रुपैयाँ निक्षेपका लागि ब्याज खर्च गरेका छन । यसमा मुद्दती निक्षेपका लागि खर्च गरेको ब्याजको हिस्सा ७४.८ प्रतिशत रहेको छ । बैंक वित्तीय संस्थाले यस अवधिमा बचत निक्षेपका लागि पनि ६० अर्ब २६ करोड रुपैयाँ ब्याज खर्च गरेका छन् ।

चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक वित्तीय संस्थाले कर्जा लगानीबाट ३ खर्ब ७५ अर्ब १४ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यो आम्दानी माघ महिनाको तुलनामा करिब ४८ अर्बले धेरै हो । माघ महिनामा बैंक वित्तीय संस्थाहरुले कर्जा लगानीबाट मात्रै ३ खर्ब २७ अर्ब ७७ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।

चालु आर्थिक वर्षको फागुन महिनामा बैंक वित्तीय संस्थाको कुल ब्याज आम्दानी १४.४३ प्रतिशतले बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको कुल ब्याज खर्च पनि १४.१४ प्रतिशतले नै बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक वण्डमा लगानी गरेर आउने ब्याज भने सबैभन्दा धेरै २२ प्रतिशतले बढेको छ।

तर, बैंक वित्तीय संस्थाको नाफा भने १९.५ प्रतिशतले मात्रै बढेको छ । फागुन महिनासम्ममा वित्तीय संस्थाहरुको खुद नाफा ५३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। यो नाफा माघ महिनाको तुलनामा ८ अर्ब ७५ करोड रुपैयाँ अर्थात १९.५२ प्रतिशतले धेरै हो । माघ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।