काठमाण्डौं महानगरको राजस्व २२.८३ प्रतिशतले बढ्यो, चैतमा मात्रै ४७ करोड संकलन


काठमाण्डौं महानगरपालिकाले गत आर्थिक वर्षको चैतको तुलनामा चालु आवको चैतमा २२.८३ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

महानगरपालिकाको राजस्व विभागका अनुसार चैत महिनामा पालिकाले ४७ करोड ४ लाख ९३ हजार ३६५ रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष चैत महिनामा महानगरले ३६ करोड ३० लाख ७१ हजार ६१२ रुपैयाँ संकलन गरेको थियो ।

महानगरले कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि राजस्व संकलनको मात्रामा वृद्धि भएको बताएको छ । महानगरका मेयर बालेन्द्र शाहले मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो, फन पार्क लगायतलाई चेतावनी दिँदै कर तिर्न पत्राचार गर्न लगाएका थिए । यसरी महानगरले लगातार कर नतिर्नेको नाम सार्वजनिक गरेपछि कर तिर्नेको संख्या बढेको महानगरले जनाएको छ ।

महानगरपालिकाले सबैभन्दा बढी घरवहाल कर संकलन गरेको छ । महानगरले १३ करोड ७६ लाख ८६ हजार ७७२ रुपैयाँ उठाएको छ । तर, यो गत वर्षको चैत महिनाको भन्दा ५.१६ प्रतिशतले कम हो । महानगरले गत वर्ष १४ करोड ४७ लाख ९२ हजार १९१ रुपैयाँ संकलन गरेको थियो । महानगरले घरबहाल करमा दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यो लक्ष्यभन्दा निकै कम हो ।

सम्पत्ति कर बुझाउन अटेर गरेर बसेका विभिन्न संघ संस्थाले पनि यो वर्ष सम्पत्ति कर बुझाएका छन् । अघिल्लो वर्ष भन्दा यो वर्ष सम्पत्ती कर १२.५७ प्रतिशतले वृद्धि भएको छ । २०७८ सालको चैतमा सम्पत्ती कर शिर्षका ३ करोड ३८ लाख ७८ हजार ३५२ रुपैयाँ राजस्व संकलन गरेको महानगरले २०७९ सालको चैतमा ३ करोड ८७ लाख ४६ हजार ९३७ रुपैयाँ राजस्व उठाएको छ । महानगरले चालू आवभरिमा सम्पत्ति कर १ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

यसैगरी नक्सापास दस्तुरबाट महानगरले १० करोड ८५ लाख ५५ हजार १८५ रुपैयाँ उठाएको छ । उक्त शीर्षकमा महानगरले चालू आवभरिमा ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ । यस्तै साना सवारी साधनमा लाग्ने करमा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ३ हजार मात्र संकलन भएको साना सवारी साधनको कर यो वर्ष १ करोड ४४ लाख ७७ हजार १५६ रुपैयाँ संकलन भएको छ । यो २०७९ चैत महिनाको भन्दा ९९.९८ प्रतिशतले बढी हो ।

यस्तै महानगरपालिकाको बेरुजू पहिलाको भन्दा निकै कम भएको छ । गत चैतमा ४३ लाख २३ हजार रहेको बेरुजू अहिले ४ लाख २० हजार १६१ रुपैयाँ रहेको छ । महानगरको बेरुजु ९२८.८९ प्रतिशतले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।