‘सहुलियतपूर्ण कर्जा नपाए खबर गर्नुस्, हामी एक्शन लिन्छौँ।’-अर्थमन्त्री

0
Shares

अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा बैंकले नदिए आफूलाई खबर गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय युवा परिषद्ले बुधबारआयोजना गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७६ को प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकसँगको सम्झौता घोषणासभा तथा पत्रकार सम्मेलनमा उनले सहुलियतपूर्ण कर्जा प्रवाह नगर्ने बैंकमाथि एक्शन लिइने बताए ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय बीच संशोधन गरिएको कार्यविधि प्रभावकारी कार्यान्वयन गर्नेमा सम्झौता भएको हो । सम्झौताअनुसार अब ती तीन बैंकले आफ्ना देशभरिका शाखाबाट युवालाई स्वरोजगार बनाउनका लागि पाँचदेखि सात प्रतिशत ब्याजदरमा सहुलितयपूर्ण कर्जा गर्नेछन् ।

मन्त्री खतिवडाले कर्जाको सुरक्षण सरकारले सुरक्षित गरेको हुनाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । “बैंकमा राखिएको पैसा उद्यमशीलता बन्ने नागरिकमाथि लगानी गर्नु पर्दछ हो, त्यसमा बिना हिचकिचावट तपाईंहरुले कर्जा प्रवाह गर्नुपर्दछ, त्यति गरेर पनि बैंकले दायाँबायाँ गरे भने हामीसँग हटलाइनको पनि व्यवस्था हुन्छ”, उनले भने, “तपाईले मेरो इमेलमा लेखेर पठाउनु होला, मैले सबै कागजात पूरा गरी ऋण पाएन भनेर खबर गरे हामी बैंकमाथि एक्शन लिन्छौँ ।”

उनले कतिपयले ऋण पाएन भनेर पनि इमेल लेखेर पनि पठाएको र त्यसको आफूले ‘फलोअप’समेत गरिरहेको बताए । उनले बैंंकले कर्जा प्रवाह नगरे आफ्नो ‘अफिसियल’ इमेलमा पनि लेखेर पठाउनसमेत आग्रह गरे । मन्त्री खतिवडाले युवा परिचालन वर्षलाई आर्थिक रुपान्तरणसँग जोड्न पनि सहुलियपूर्ण कर्जा प्रवाहमार्फत युवालाई स्वरोजगार बनाउन लागिएको बताए ।