एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण सम्झौता

0
Shares

एभरेष्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र निक्षेप तथा कर्जा सुरक्षण कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौतामा कोषका विभागीय प्रमुखहरु र एभरेष्ट बैंकका नायब महाप्रबन्धक केशव पौडेल लगायत बैंकका विभागीय प्रमुखहरु अन्जु शर्मा र पुष्पराज उप्रेतीको उपस्थिति थियो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै एभरेष्ट बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति १० लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति २० लाखसम्म तथा वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति १० लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

यस्तै भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति ३ लाखसम्म, सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्यक्ति १० लाखसम्म, सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्तिका लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघुउद्यम परियोजना अन्तर्गत परियोजना धितोराखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान बापत व्यहोर्ने र बाँकी ५० प्रतिशत एभरेष्ट बैंकले कोषमा बुझाउनेछ । कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा संस्थाले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।