एनआईसी एसिया बैंकको ९ महिनाको नाफा ४ अर्ब बढी, जगेडामा १७ अर्ब

0
Shares

एनआईसी एसिया बैंकले चालु आवको तेस्रो त्रैमास अर्थात ९ महिनाको अवधिमा ४ अर्ब बढी नाफा कमाएको छ । बैंकले चैतसम्म ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंकको नाफा गत वर्षको सोही अवधीको तुलनमा ११.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निक्षेप संकलन ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ८.५९ प्रतिशत बढेको तथा कर्जा ५.४५ प्रतिशत बढेको छ।

बैंकको खराब कर्जा बढेको भएपनि १ प्रतिशत भन्दा तल नै कायम  छ। बैंकको खराब कर्जा ०.३४ प्रतिशत बढेर ०.८७ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रहेको छ । साथै जगेडा कोष २९.६५ प्रतिशत बढेर १७ अर्ब २१ करोड ६३ लाख रुपैयाँ पुगेको छ । पछिल्लो दुई वर्ष लाभांश नबाढेको बैंकको जगेडा मजबुत हुँदै गएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपैयाँ २९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।