माई खोला हाइड्रोपावरको आईपीओ निष्काशन, कस्तो छ कम्पनी ?


माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागिमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले बैशाख ८ गतेदेखि आवेदन दिन पाउने गरी आईपीओ ल्याएको हो । कम्पनीले जारी पूँजीको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बरारबको १५ लाख २९ हजार ४११ कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो ।

सो मध्ये ७६ हजार ४७९ कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ भने ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।

सर्वसाधारणले भने १२ लाख ६९ हजार ४११ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओमा आज बैशाख ८ गतेदेखि बैशाख १२ गतेसम्म आवेदन दिनु पर्ने छ । सो अवधि भित्रमा उक्त कित्ता बिक्री नभएमा भने निष्काशन अवधि बैशाख २४ गतेसम्म लम्बिनेछ।

सर्वसाधारणले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कहाँबाट दिन सकिन्छ ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

कस्तो छ कम्पनी ?

कम्पनीले सञ्चालन गरिरहेको ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.०१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.७४ वर्ष रहेको छ।आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष ६ महिना बाँकी रहेको छ। कम्पनीले २०७७ असार ३१ गतेदेखि व्यवसायीक उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।