मोदी इनर्जीले सर्वसाधारणका लागी आइपीओ ल्याउँदै


मोदी इनर्जीले सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाइ आइपीओ बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने ७२ लाख ५० हजार कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँको दरले जारी गर्न लागेको हो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ भने ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

बाँकी ५५ लाख ५९ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको आइपीओमा बैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल रहेको छ ।

कस्तो छ कम्पनी ?

कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १२ वर्ष ११ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ वर्ष ८ महिना रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २३ वर्ष बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।