बीमा कम्पनीहरुले सहज रुपमा दाबी भुक्तानी नगरेको गुनासो

0
Shares

बीमा कम्पनीहरुले सहज रुपमा दाबी भुक्तानी नगर्ने गरेको गुनासो गरेका छन् ।

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको रामग्राम नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले प्राधिकरण समक्ष यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा सहभागीहरूले कृषिबीमाको दाबी भुक्तानी दुई वर्षसम्म पनि नपाएको, कोरोना बीमाको दाबी भुक्तानी अझैसम्म नभएको, बीम कम्पनीहरुले सजिलै बीमा गर्ने तर दाबी भुक्तानीका बेला अनेक कागजात मागेर हैरान गर्ने गरेको, काँचो इँटाको बीमा गर्न नमानेको लगायतका गुनासाहरू राखेका थिए ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को रामग्राम नगरपालिकामा आयोजित बीमा सचेतना कार्यक्रममा नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्दै बीमा सम्बन्धी कुनै गुनासा भए प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बीमा व्यक्ति र सम्पत्तिको जोखिमसँग जोडिएको विषय भएकाले कुन कुनको बीमा हुन्छ र कुन कुनको बीमा हुँदैन भन्ने बारेमा सबैलाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याए । प्रमुख यादवले जोखिम कम भएकाको बीमा सहज तरिकाले हुने तर बढी जोखिम देखिएकाको भने बीमा गर्न कठिन हुने समस्या देखिएको बताए ।

रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले बीमा कम्पनीहरूले बीमा गर्न आकर्षित गर्ने तर दाबी भुक्तानीका समयमा भने विभिन्न बहाना बनाउने जस्ता समस्या रहेको उल्लेख गर्दै दाबी भुक्तानीलाई सहज बनाई बीमाको पहुँच विस्तारमा समन्वय गर्न नगरपालिका तयार रहेको बताइन् ।

कार्यक्रममा रामग्राम नगरपालिकाका वडा अध्यक्ष, कार्यकारी सदस्य र कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख/प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।