अमेरिकाको अर्को बैंक धरासायी अवस्थामा, उद्धारका लागि छलफल सुरु

0
Shares

सिलिकन भ्याली बैंक र सिल्भरगेट बैंक धरासायी अवस्थामा पुगेको २ महिना नहुँदै अमेरिकाको अर्को –फस्ट रिपब्लिक बैंक धरासायी अवस्थामा पुगेको छ ।

मार्च ८ मा अमेरिकाका दुई ठूला बैंक टाट पल्टिएपछि अमेरिकामा क्षेत्रीय बैंकिङ संकट निम्तिएको थियो । बैंकिङ संकट निम्तिएको २ महिना नहुँदै अमेरिकाको फस्ट रिपब्लिक बैंक टाट पल्टिने अवस्थामा पुगेको हो ।

फस्ट रिपब्लिक बैंक टाट पल्टिएको खन्डमा त्यसको परिणाम राम्रो नहुने र अमेरिकी बैंकिङ प्रणालीमा ठूलो प्रभाव पार्ने हुँदा बैंकको उद्धारका लागि अमेरिकाको केन्द्रीय बैंक–फेडरल रिजर्भ, वाणिज्य विभाग र निक्षेप गर्ने बीमा निकाय–फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेसनले छलफल सुरु गरेका छन् ।

सिलिकन भ्याली बैंक टाट पल्टिएको समयमा फस्ट रिपब्लिक बैंकका धनाढ्य ग्राहकहरुले बैंकमा राखेको निक्षेप निकालेका थिए । सन् २०२३ को पहिलो ३ महिनामा नै फस्ट रिपब्लिक बैंकबाट १०० अर्ब डलर रकम बाहिरिएको छ । जसकारण बैंकले तरलता संकटको समस्या भोगिरहेको छ ।

यस अघि नै फस्ट रिपब्लिक बैंक टाट पल्टिने अवस्थामा पुगेपछि अन्य ११ ठूला बैंकहरुले मार्च १६ मा ३० अर्ब डलर फस्ट रिपब्लिक बैंकमा जम्मा गरेका थिए । तर बैंकहरुले निक्षेप गरेको सो रकमले दीर्घकालीन रुपमा फस्ट रिपब्लिक बैंकको समस्या समाधान गर्न सकेन । जसकारण बैंक पुनः धरासायी अवस्थामा पुगेको छ ।

फस्ट रिपब्लिक बैंक धरासायी अवस्थामा पुगेसँगै बैंकको सेयर मूल्य जनवरी महिनाको तुलनामा अप्रिल महिनामा ९५ प्रतिशतले आरालो लागेको छ । बैंकको उद्धारका लागि बैठक बसेता पनि बैठकबाट ठोस निष्कर्ष ननिस्किएको रोयटर्समा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।