विदेशी सञ्चितिमा सुधार आएपछि मनि चेञ्जरको सटही सीमा बढ्यो, खरिद सीमा ५ हजार डलर


नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिमा सुधार आएपछि विदेशी मुद्राको कारोबारमा नीतिगत लचकता अपनाएको छ । केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै मनिचेञ्जरले खरिद गर्ने प्रतिव्यक्ति विदेशी मुद्राको सीमा समेत बढाएको हो ।

केन्द्रीय बैंकका अनुसार बिदेशी मुद्राको सञ्चिती १४ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ९ खर्बसम्म झरेपछि बैंकले विदेशी मुद्राको कारोबारमा कडाइ गरेको थियो । उच्च आयातका कारण विदेशी सञ्चितिमा दबाब परेसँगै केन्द्रीय बैंकले गत वर्ष देखि विदेशी मुद्राको सटही सुविधा तथा भूक्तानीहरुको सीमा घटाएको थियो । तर, पछिल्लो समयमा विदेशी सञ्चितिमा सुधार आएपछि केन्द्रीय बैंकले खुकुलो नीति लिन सुरु गरेको हो ।

यसभन्दा अघि प्रतितपत्र खोल्दा नगद मार्जिन अनिवार्य गरेको केन्द्रीय बैंकले त्यसलाई पनि हटाएको छ । शुक्रबार देखि केन्द्रीय बैंकले त्यसका साथै माल बस्तु बाहेकको आयातमा प्रतितपत्र अनिवार्य हुने व्यवस्था गरेको छ । यसअघि मालबस्तु बाहेको आयातमा पनि प्रतिपत्र अनिवार्य थियो ।

त्यसैगरी राष्ट्र बैंकले नेपालका वायुसेवा प्रदायक कम्पनीहरूमा कार्यरत विदेशी नागरिकको श्रम स्वीकृति र सम्झौताको अवधि वहाल रहेको अवस्थामा रोजगारदातासँग गरेको करारमा उल्लिखित पारिश्रमिकमा प्रचलित कानूनबमोजिम कर कट्टी पछि हुन आउने रकमको बढीमा ७० (सत्तरी) प्रतिशतसम्मको रकम सम्बन्धित मुलुकमा पठाउन सक्ने व्यवस्था गरेको छ । यसभन्दा अघि तोकेको अधिकतम एक वर्षको सीमालाइ भने हटाएको छ ।

“वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९” बमोजिमको पोर्टल प्रयोगमा आएपछि बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले माल वस्तु आयात गर्ने प्रयोजनको लागि ड्राफ्ट टी.टी. मार्फत आयात गर्न पाइने सीमाभन्दा बढीको हकमा प्रचलित व्यवस्था अन्तर्गत रही प्रतितपत्रको माध्यमबाट मात्र प्रदान गर्नु पर्नेछ । मालवस्तु बाहेक अन्य आयातको हकमा प्रतितपत्र अनिवार्य हुने छैन ।

नेपाली नागरिकलाई विभिन्न प्रयोजनको लागि निम्न बमोजिम परिवत्र्य विदेशी मुद्रा (भारत बाहेक) को सटही सुविधा अधिकतम अमेरिकी डलर १ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ । तर, भिसा आवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवर्त्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

परिवत्र्य विदेशी मुद्रामा खोलिएको खाताबाट आफ्नो तथा आफ्नो सहायक कम्पनीको लागि विदेशी संस्थाबाट लिने विविध सेवा, अदृश्य आयात लिए / गरेको पुष्टि हुने कागजात / बिल बीजकको आधारमा मासिक रुपमा बढीमा अमेरिकी डलर १५ हजार वा सो बराबर हुने रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्न सकिनेछ । तर, नेपाली विश्वविद्यालयले लिने सेवाको हकमा विदेशी प्राकृतिक व्यक्ति (शोधकर्ता/प्राध्यापन पेशाकर्मी) लाई समेत भुक्तानी गर्न सकिनेछ र त्यस्तो भुक्तानीको सीमा वार्षिक अमेरिकी डलर ५० हजारसम्म हुनेछ ।

मनिचेञ्जरले नेपाली नागरिकसँग अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम) को खरिद कारोबार गर्न सक्नेछन् । यसभन्दा अघि यस्तो सीमा एक हजार डलर मात्र थियो । तर, विदेशी इष्टमित्र र ग्राहकहरुबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर ५०० सम्म मात्र सटही गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।