नक्कली बिजक बनाएर ८७ लाखको कर छली, बिगोको दोब्बर जरिवाना

0
Shares

वस्तु तथा सेवा खरीद नै नगरी मूल्य अभिवृद्धि कर (भ्याट) को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली गरेको तथ्य फेला परेको छ ।

यसरी कर छली गर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ का रामप्रसाद चौलागाईं र सोही जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ का रामकृष्ण ढकाल रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

झुटा बिजक बनाएर उनीहरुले झण्डै ८७ लाख बिगो बराबरको राजश्व छली गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना तथा तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको छ । मैनालीका अनुसार उनीहरुले कम्पनीमार्फत राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेकाले मुद्दा चलाइएको हो ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–९ बस्ने प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईँले ५९ लाख र सोही जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले झण्डै २८ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले जनाएको छ ।