वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्यो, ११% ब्याजदर पाइने

0
Shares

नेपाल राष्ट्र बैंकले वैशाख १७ गतेदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ ।

केन्द्रीय बैंकले ११ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र २०८५ बिक्री खुला गरेको हो ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि ५ वर्षे बचतपत्र निष्काशन गर्न गरेको हो । केन्द्रीय बैंकका अनुसार बचतपत्रको बैशाख १७ गतेदेखि जेष्ठ १७ गतेसम्म बिक्री खुला हुनेछ भने जेष्ठ २४ गते निष्काशन हुनेछ ।

पाँच वर्षका लागि निष्काशन गरिएको उक्त बचतपत्रमा बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर समेत प्रदान गर्ने जनाएको छ । ब्याज भुक्तानी अर्धवार्षिक (६।६ महिनामा) रुपमा हुने जनाइएको छ। उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने हुन्छ ।

उक्त बचतपत्र लगानीका लागि इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले निवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले बचतपत्रका लागि घटीमा १० हजार देखि बढिमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरि आह्वान गरिएको रकमसम्म खरीद दरखास्त दिन सक्नेछन् ।

आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले बचतपत्र खरिदका लागि ७ वाणिज्य बैंकहरु सिटिजन्स, नबिल, माच्छापुच्छे«, प्रभु, सनराइज, सिद्धार्थ र सानिमाबाट अनवेदन दिन सक्ने छन् । यस्तै नेपाल बैंक लिमिटेड, ग्लोबल बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड तथा तीन रेमिट कम्पनीहरु प्रभु मनि ट्रान्सफर र सेवा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीहरुबाट आवेदन बुझाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ वैशाख २०८०, आइतबार  ०८ : २५ बजे