नेपाल रेमिटबाट पठाएको रकम ग्रीन डेभलपमेन्ट बैंकबाट भुक्तानी लिन सकिने

0
Shares

विगत १७ वर्षदेखि नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिटबाट नेपाल पठाइएको रेमिट्यान्स् रकम ग्रीन डेभलपमेन्ट बैंकका १६ वटै शाखा कार्यालय मार्फत भुक्तानी प्राप्त गर्न सकिने भएको छ ।

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र ग्रीन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएसँगै विदेशमा रहेका नेपालीहरुले आफ्ना घरपरिवारमा नेपाल रेमिट मार्फत रकम पठाउन सक्नेछन् । यस्तो भुक्तानी ग्रीन डेभलपमेन्ट बैंक मार्फत हुनेछ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट उपमहाप्रबन्धक देवबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्याकारी अधिकृत हरि बहादुर बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले सिधै आफ्नो बैंक खातामा समेत नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सक्नेछन् । नेपाल रेमिट इन्टरनेशनल प्रालिले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेषगरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममानै बैंक डिपोजिट हुने व्यवस्था मिलाएको छ । साथै देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिन्छ ।

ग्रीन डेभलपमेन्ट बैंक बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत बाग्लुङ नगरपालिकामा ५ जिल्लास्तरीय विकास बैंकका रूपमा ‘संवृद्धिको लागि साझेदारी’ भन्ने नाराका साथ स्थापना भएको विकास बैंक हो ।  बैंकले बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ र नवलपुर जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै यो बैंक बाग्लुङ जिल्लाका पहिलो स्थानीय विकास बैंक पनि हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।