निफ्राको सञ्चालकमा रत्नराज्य बज्राचार्य नियुक्त

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समिति सदस्यमा रत्नराज्य बज्राचार्य नियुक्त भएका छन् । बज्राचार्य ग्लोबल आइएमई बैंकको तर्फबाट सञ्चालक चयन भएका हुन् ।

बैंक सञ्चालक समितिको बैशाख १७ गते आइतबार सम्पन्न बैठकले रिक्त रहेको संस्थापक समूह तर्फको सञ्चालक पदमा संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट बज्राचार्यलाई बैशाख १७ गतेदेखि लागू हुनेगरी नियुक्त गरेको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यव्यस्तता बढेको भन्दै दिएको राजीनामा चैत्र ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद रिक्र थियो ।

साथै आइतबारको सोही बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक रहेका सुमन पोखरेलले दिएको राजीनामा बैशाख १८ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । सर्वसाधारण सेयरधनीको तर्फबाट बैंकका सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आइरहेका सदस्य पोखरेलले आफ्नो व्यक्तिगत कार्य व्यस्तताको कारणले सञ्चालकको रुपमा रही जिम्मेवारी बहन गर्न असमर्थता जनाउँदै सञ्चालक पदबाट राजीनामा दिएको बैंकले जनाएको छ । सुमन पोखरेलको राजीनामासँगै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक पद खाली भएको छ ।

बैंकको सञ्चालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल रहेका छन् ,। यस्तै अन्य सञ्चालकहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल (संस्थापक), इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी (संस्थापक), शंकर प्रसाद अधिकारी ( स्वतन्त्र सञ्चालक) र सर्वसाधारण सेयरधनीको तर्फबाट लिला अधिकारी आचार्य रहेकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।