मुक्तिनाथ विकास बैंकको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

मुक्तिनाथ विकास बैंकले मंसिर ८ गतेदेखि लिलामीमा राखेको चार लाख कित्ता शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले संस्थापक समूहको १ लाख २ हजार ५१६ कित्ता तथा सर्वसाधारण समूहको ३ लाख ७०४ कित्ता गरी कुल ४ लाख ३ हजार २२० कित्ता शेयर लिलामी मार्फत बिक्री गर्दैछ ।

बैंकले गत भदौ १२ गतेदेखि निष्काशन गरेको हकप्रदमा नबिकेको शेयर लिलामीमा राखेको हो । बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

बैंकको लिलामीको शेयरमा मंसिर १५ गतेसम्म आवेदन गर्न पाइने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । लगानीकर्ताले न्युनतम एक सय रुपैयाँ कबुलेर न्युनतम एक सय कित्ता शेयरका लागि आवेदन गर्न पाउनेछन् । अधिकतम हद भने नतोकिएको बिक्री प्रबन्धकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले गतबर्षको कमाईबाट १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लिलामीको शेयर हात पार्नेले पनि प्रस्तावित लाभाश पाउनेछन् ।

बैंकले मंसिर ३० गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर २२ गते आइतबारसम्म बैंकको शेयर किन्नेहरुले मात्र बैंकको प्रस्तावित लाभांस पाउने छन् ।