आन्तरिक राजस्व कार्यालय चावाहिलले बक्र्यौता रकम नतिर्ने ५५ कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ । कार्यालयले पटक पटक फोन सम्पर्क गर्दा पनि अटेर गरेको भन्दै १५ दिनमा कार्यालयमा उपस्थित हुन आदेश दिएको हो ।
राजस्व कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘फोन सम्पर्क, पत्राचार तथा संकलन भ्रमण गरी बक्यौता रकम दाखिला गर्न अनुरोध गरिएकामा हालसम्म रकम दाखिला भएको प्रमाण पेश नभएको र कार्यालयबाट संकलन भ्रमण गर्ने शिलशिलामा केही करदाताहरु पत्ता नलागेको भनि पत्र फिर्ता आएको र हालसम्म कार्यालयमा सम्पर्कमा नआएको हुँदा सूचना प्रकाशन गरिएको छ ।’
बक्यौता रकम दाखिला नगर्नेमा बुढानिलकण्ठ १० कपनमा रहेको हिमालय ईलेक्ट्रीकल्स इन्जिनियरिगं रहेको छ । जसका सञ्चालक लव कुमार ढमाल हुन् । उनले मूल्य अभिवृद्धि कर तिर्न बाँकी छ । यस्तै अशोक कुमार यादव सञ्चालक रहेको चावहिल स्थित अम्ब्रेला मल्टिप्रर्पोज बिजनेश प्रालि रहेको छ । अम्ब्रेला मल्टिप्रर्पोजले मूल्य अभिवृद्धि र आयकर दुवै रकम दाखिला गर्न बाँकी छ ।
यस्तै कर नतिर्नेमा पेन्सि निर्माण सेवा प्राली, स्मार्ट डिजिटल टिभी प्राली, आशुतोष प्रिन्टर्सलगायत रहेका छन् । आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा नेपाल सरकारले व्यक्तिको सम्पत्ति माथि दाबी गर्ने, दफा १०५ मा दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्नेदेखि दफा १११ मा कर असुलीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नेसम्मको व्यवस्था छ ।
त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा म्यादभित्र कर नबुझाएमा महानिर्देशकको पूर्वस्वीकृति लिइ कर अधिकृतले व्यवस्थाबमोजिमका कुनै वा सबै तरिका अपनाइ कर असुल गर्ने भनिएको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १० ‘ज’ मा म्यादभित्र बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा अन्तःशुल्क अधिकृतले विभिन्न सात उपाय अपनाएर असुल गर्नसक्ने कानुनी प्रबन्ध छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया