प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन् ।
उनले भने, “लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ । ” २५६७ औँ बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले बुद्धसँग सम्बन्धित क्षेत्र लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण गरेर यस क्षेत्रको दिगो विकाससहित बृहत्तर लुम्बिनी क्षेत्रका रूपमा अघि बढाएकोे जानकारी दिए ।
उनले सम्पूर्ण मानवजातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको बताए । उनले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घसंस्थाको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गरिने जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले सम्राट अशोकले इसापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एकवटा गरी जम्मा तीनवटा स्तम्भ स्थापना गरेको उल्लेख गर्दै ती स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भएको बताए ।
“नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले बृहत्तर लुम्बिनीलाई बुद्धको भूमि बनाएको र यस्तो तीर्थस्थल जहाँ एक घन्टाको यात्राबाट तीनवटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहीँ पनि पाउन सकिँदैन”, उनले भने, “त्यसैले बृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिशयोक्ति हुँदैन ।”
उनले नेपाली भूमिमा बुद्धको जन्म हुनु नेपाल र नेपालीका लागि गर्वको विषय भएको र उनको जन्मले नेपाललाई विश्वमा चिनारीमात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको बताए । “ससारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला ? अन्दाज गर्न पनि गाह्रो छ”, उनले भने , “तर अनुमानमात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । वर्तमान सरकारले यस तथ्यलाई हृदयङ्गम गरी कार्य अगाडि बढाउने छ ।”
प्रधानमन्त्री दाहालले पूर्वीय समाज र दर्शनको विकास प्रक्रिया विश्व मानचित्रमा नै अग्रणी मानिँदै आइएको उल्लेख गर्दैै भने ,“पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैभवशाली र गौरवशाली दुवै छौँ ।”
उनले किरात दर्शन, बुद्ध दर्शन, षड्दर्शनलगायतका नेपाली दर्शनमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू रहेको र तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवद्र्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक रहेको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया