सिम्रिक एयरका सबै हेलिकोप्टर ग्राउण्डेड

0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनापछि उसका सबै तीनवटा ग्राउण्डेड गरेको छ । अर्को निर्णय नहुन्जेलसम्मका लागि प्राधिकरणले कम्पनीका सबै हेलिकोप्टरलाई ग्राउन्डेड गरिदिएको हो । प्राधिरकणले शुक्रबार नै कम्पनीलाई ग्राउन्डेड गरिएको बारे पत्र पठाइसकेको छ ।

सिम्रिक एयरसँग कुल चार वटा हेलिकोप्टर थिए । तीमध्ये एउटा शुक्रबार संखुवासभामा दुर्घटनामा परेपछि अब तीन वटा मात्र बाँकी छन् ।
शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । दुर्घटना बढ्न थालेपछि हेलिकोप्टर माथि सुरक्षा जाँच गरेर मात्र उडान गर्न अनुमति दिने प्राधिरकणले जनाएको छ ।

प्राधिकरणको सेफ्टी विभागले सिम्रिकका सबै हेलिकोप्टरको विस्तृत निरीक्षण, वायुयानको उडान योग्यता, हवाई सुरक्षा व्यवस्थापन प्रणालीको अडिट गर्ने जनाएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका–४, सिप्रुङमा नाईनएनएजेजेड कल साइनको हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको छ भने दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।