बाराही हाइड्रोपावरको शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख २१ गते सम्पन्न बैठकले दुई आयोजनहरु निर्माणका लागि लगानी जुटाउने उदेश्यकले हाल कम्पनीको चुक्ता पुँजी बराबर अर्थात एक बराबर एक कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीका सञ्चालन तथा अनुपालना अधिकृत सन्दिप कुमार शर्मा पौडेलले कम्पनीले आफ्नो ५१ पतिशत सेयर रहेको (३.४५ मेगावाट क्षमताको सिंकोस खोला जलविद्युत आयोजना र आफ्नो स्वामित्वमा रहेको ०.७५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजनाको निर्माणको लागि हकप्रद सेयर निष्काशन गर्ने निर्णय बिहीबारेको बैठकले गरेको जानकारी दिए । हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी कम्पनीले पूर्व स्वीकृतीको लागि विद्युत नियमन आयोगमा पेश गर्ने निर्णय समेत सोही बैठकले गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको छ । सञ्चालक समितिको बैठकबाट प्रस्तावित हकप्रद १ बराबर १ अनुपातमा हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । 

कम्पनीको सेयर २०७९ पुस १९ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री हुँदै आएको छ । मंसिर २१ देखि २६ गतेसम्म कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता आईपीओ जारी गरेर पुस ३ गते आइतबार बाँडफाँड गरेको थियो ।बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले बागलुङको कुस्मिसेरामा १।५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७४ असार २४ गतेदेखि ठेउले खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५५ लाख ६८ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । विद्युती बिक्रीबाट २ करोड आम्दानी गरेको कम्पनीको खर्च १ करोड १६ लाख २५ हजार तथा वित्तीय खर्च १ करोड ४० लाख २६ हजार रहेका पुगेका कारण कम्पनीको आयभन्दा खर्च बढी पुगेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।