कर्जाको ब्याजदर घट्ने निश्चित भएपछि सेयरबजारमा सुधार

0
Shares

आगामी महिनादेखि कर्जाको ब्याजदर घट्ने निश्चित भएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयरबजारमा मंगलबार दोहोरो अंकको सुधार आएको छ तर कारोबार रकममा भने सुधार आउन सकेन ।

मंगलबार नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १६.९३ अंकले घटेर एक हजार ८ सय ३३ दशमलब ६९ विन्दुमा बन्द भएको थियो । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज ७७ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

राष्ट्र बैंकको पछिल्लो निर्देशनले अब हरेक महिना बैंकहरुले कर्जाको समेत ब्याजदर परिवर्तन गर्नुपर्ने भएकाले कर्जाको ब्याजदर घट्ने निश्चित भएको हो। नयाँ व्यवस्था अनुसार अब बैंकहरुले पछिल्लो तीन महिनाको औसत आधार दरमा आएको परिवर्तनका आधारमा हरेक महिना ब्याजदर घटबढ गर्नुपर्नेछ ।

पछिल्ला महिनाहरुमा बैंकहरुको आधार दर घट्दो क्रममा रहेको र हरेक महिना ब्याजदर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण जेठदेखि ब्याजदर थप घट्ने भएको हो।

अर्को महिनादेखि नयाँ कर्जाको ब्याजदर करिब १ प्रतिशत विन्दु र पुरानाको करिब ०.५ प्रतिशत विन्दुका दरले घट्ने देखिएको एक बैंकरले बताए । हाल कर्जाको औसत ब्याजदर १३.३ प्रतिशत छ ।

वैशाखदेखि लागू हुने गरी बैंकहरुले बैंकहरुले निक्षेपको ब्याजदर लगभग एक प्रतिशत विन्दुका दरले घटाएका थिए ।हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । गत चैतमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत मुद्दतीमा ९ प्रतिशत दिँदै आएका थिए ।

आज कारोबार भएका १६१ कम्पनीको सेयरमूल्य बढेको छ भने ५० कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पिपुल्स पावर कम्पनीको सेयरमूल्य ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता २६९.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।